arrow

म्यानमारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

logo
एएफपी,
प्रकाशित २०७८ वैशाख ४ शनिबार
myanmar-ku1.jpg

याङ्गुन। म्यानमारको जुन्ता सरकारले बन्दी गृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको छ। देशभरका विभिन्न बन्दी गृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ वर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो।

लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौँ आन्दोलनकारी अहिले बन्दी भएका छन्। तीनै हजारौँ बन्दीहरू मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिवार जानकारी दिएका छन्।

म्यानमारमा परम्परागत बुद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको अवसरमा कैदी बन्दीहरूलाई आम माफी दिने चलन अनुसार नै यस पटक बन्दीहरूलाई रिहा गर्न लागिएको हो। गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौँ गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन् । त्यसै गरी सात सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ।

मृत्यु भएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूको तर्फबाट भएको हिंसामा परी उनीहरूको मृत्यु भएको राष्ट्रसङ्घीय अधिकारीहरूको भनाई छ।

आन्दोलनमा लागेको आरोपमा झन्डै एक हजार बालबालिकाहरूलाई सुरक्षाकर्मीहरूले अझै पनि नियन्त्रणमा लिएको पनि राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ। हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घ लगायतका धेरै निकाय र मुलुकहरूले पटक पटक आग्रह गरे पनि म्यानमारमा हिंसात्मक घटनाहरू भइरहेको छ। पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ।

तत्कालीन नयाँ संसद्को पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो।



लोकप्रिय समाचार
नयाँ