arrow

‘यो देश प्रधानमन्त्री ओलीको निजी कम्पनी होइन’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
devendra-poudel.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले यो देश प्रधानमन्त्री केपी शर्मा ओलीको निजी कम्पनी नभएको बताएका छन् । उनले देश विधि र शासनअनुसार चल्ने भन्दै प्रधानमन्त्रीले जे भन्यो त्यही देशमा नहुने बताएका छन् । 

नेता पौडेलले भने, ‘यो देश प्रधानमन्त्री ओलीको निजी कम्पनी होइन’ । उनले प्रधानमन्त्री पनि आफ्नो ठाउँमा बस्नुपर्ने बताए ।

प्रधानमन्त्री ओली सभामुख अग्निप्रसाद सापकोटासँग आक्रोशित भएको विषयमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले हटाउन खोज्दैमा सभामुख नहट्ने बताए ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले भने, ‘संसदमा विधि हुन्छ त्यो विधिले उहाँलाई सभामुख हटाउने अधिकार दिँदैन ।’

शनिबारको सर्वदलीय बैठकमा ओलीले सभामुखले सरकारलाई असहयोग गरिरहेको भन्दै आक्रोश पोखेका थिए । ओलीले जसरी पनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न खोजेकामा सभामुखले अवरोध गरेको आरोप लगाएका थिए । 

नेता पौडेलले नेपाली वामपन्थी जन आन्दोलनको ओलीले अपमान गरेको भन्दै देश बिगारेको आरोप लगाए । उनले एमसीसी परिमार्जनसहित पारित गर्न सकिने तर प्रधानमन्त्री ओलीले गलत समयमा एमसीसीको चर्चा गरेको आरोप लगाए । 

ओली आफ्नै दलभित्र पनि अप्ठेरोमा रहेको भन्दै पौडेलले ठूला ठूला कुरा गरेर अरुको आलोचना गरेर भन्दा आफू सच्चिँदा राम्रो हुने सुझाव दिए । 

उनले सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने बताएका छन् । उनले ‘समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता गर्ने काम सँगसँगै हुनेछ’ भने । 

सोमबारको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा यो विषयमा छलफल हुने उनले बताए । विपक्षी पार्टीहरुसँग अविश्वासको प्रस्ताव दर्ता गर्ने बारेमा छलफल चलिरहेको उनले बताए । 

माधव नेपाल पक्षसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निरन्तर छलफल हुनु सकारात्मक भएको भन्दै अदालतले छुट्टाइदिएको भए पनि मत मिल्ने भएकाले केही समयअघि अर्को अध्यायमा जान सकिने बताए । 

उनले प्रचण्ड–नेपाल मिलेर नयाँ कम्युनिष्ट पार्टी गठन हुन सक्ने विश्वास व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ