arrow

प्रतिनिधि सभाको अधिवेशन अन्त्य अप्रत्याशित र हठात् : काँग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
congress-party-office-1.jpg.jpeg

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात् रूपमा अन्त्य गरेको बताएको छ। काँग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात् रूपमा अन्त्य गरेको बताएको हो।

काँग्रेसले सरकारले हठात् रूपमा संसद् स्थगन गर्नुलाई गम्भीरतापूर्वक लिएकोसमेत भनेको छ। ‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौँ महत्त्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर सांसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर बैठकले गरेको छ। यो बैठक सरकारको स्वेच्छाचारी प्रवृत्तिको घोर भर्त्सना गर्दछ।’ काँग्रेसले बैठकपछि जारी विज्ञप्तिमा भनेको छ।

काँग्रेस सह महामन्त्री डा. प्रकाशसरण महतले सरकारले हठात् रूपमा संसद् स्थगन गर्नु ‘नियत खराब’ भएको बताए। ‘प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गर्नुबाट सरकारको ‘नियत खराब’ देखियो,’ महतले हाम्राकुरासँग भने।

काँग्रेसले बैठकमार्फत कोरोनाबाट जनताको सुरक्षा गर्ने विशेष कार्य योजना तत्काल निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्य योजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।

विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रूपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र द्रुत अभियान सञ्चालन गर्न बैठकले सरकार समक्ष माग गरेको छ। साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरू अनिवार्य रूपले पालना गर्न आम जनतालाई समेत अपिल गर्ने निर्णय काँग्रेस बैठकले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ