arrow

भारतमा कोरोनाका मृतक ह्वात्तै बढे, संक्रमणको गति तीव्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
corona-india-patient.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित बढिरहँदा मृतक पनि ह्वात्तै बढेका छन् । सोमबार आइतबारको तुलनामा संक्रमित थपिनेमा केही कमी आए पनि मृतक भने दिनानुदिन बढेका छन् । 

सोमबार २ लाख ५६ हजार ८२८ जना संक्रमित थपिएका छन् । आइतबार २ लाख ७४ हजार ९४४ संक्रमित थपिएका थिए । आइतबारको त्यो तथ्यांक एकैदिन थपिएको कुनै पनि राष्ट्रको सबैभन्दा बढी हो । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा यतिधेरै संक्रमित थपिएका हुन् । 

शनिबार २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका थिए । शुक्रबार २ लाख ३४ हजार थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । बिहीबार २ लाख १६ हजार ६४२ जना थपिएका थिए ।

यसअघि बुधबार १ लाख ९९ हजार ३७६ थपिएका थिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १५ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए । 

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । निरन्तर बढिरहेको आँकडाले भारतसँगै छिमेकी देशहरुमा पनि कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिन्छ ।

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर २० लाख २४ हजार ६२९ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । सोमबार एकैदिन दोस्रो लहरपछिको सबैभन्दा धेरै १ हजार ७५७ जनाको ज्यान गयो । आइतबार १ हजार ६२० जनाको, शनिबार १ हजार ४९२ जनाको, शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ८० हजार५५० जनाको ज्यान गइसकेको छ । सोमबार १ लाख ५४ हजार २३४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ३१ लाख ३ हजार २२० जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । सोमबार ५८ हजार ९२४ संक्रमित थपिएका छन् । आइतबार अहिलेसम्मकै सर्वाधिक ६८ हजार ६३१ जना संक्रमित थपिएका थिए । शनिबार ६७ हजार १२३ जना, शुक्रबार ६३ हजार ७२९ जना, बिहीबार ६१ हजार ६९५ जना, बुधबार ५८ हजार ९५२ जना, मंगलबार ६० हजार २१२ संक्रमित थपिएका थिए । 

हाल महाराष्ट्रमा मात्रै ६ लाख ७६ हजार ५२० जना सक्रिय संक्रमित रहेका छन् । सोमबार ३५१ जनाको ज्यान गयो । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ५०३ जनाको ज्यान गएको थियो । शनिबार ४१९ जनाको, शुक्रबार ३९८ जनाको, बिहीबार ३४९ जनाको , बुधबार २७८ जनाको, मंगलबार २८१ जनाको ज्यान गएको थियो । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ७६ हजार ८८७ पुगेका छन् । सोमबार मात्रै २३ हजार ६८६ संक्रमित थपिए । दिल्लीमा सोमबार २४० जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा २ लाख ८ हजार ५२३ जना सक्रिय संक्रमित छन् । सोेमबार २८ हजार २११ संक्रमित थपिए । त्यस्तै मृतक १६७ थपिए ।

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ४९ हजार ५२७ जना पुगेका छन् । सोमबार ७ हजार ८४७ जना संक्रमित थपिएका छन् । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ८ हजार ६९० जना संक्रमित थपिएका थिए । सोमबार ४१ जना मृतक थपिएका छन् । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म १२ करोड ३८ लाख ५२ हजार ५६६ जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ ।
 



लोकप्रिय समाचार
नयाँ