- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी कार्यालय बालकुमारीमा जसपाको पहिलो अध्यक्ष महन्थ ठाकुर सकेसम्म जान्नन् । उनी हरेक दिनजसो तत्कालीन राष्ट्रिय जनता पार्टी कार्यालय बबरमहल पुग्ने गर्छन् र त्यहाँ दिनभर बस्ने गर्छन् । पार्टीको शीर्ष तहको बैठकमा सहभागी हुन बाहेक उनी बालकुमारी जाने गर्दैनन् । गत चैत महिनामा उनी दुई पटकमात्र बालकुमारी पुगे, त्यो पनि शीर्ष नेताको बैठकमा उपस्थित हुनको लागि ।
महन्थ भेट्न चाहनेहरू पनि बबरमहलमै पुग्ने गर्छन् । बबरमहलमा तत्कालीन समाजवादी पार्टीका नेताहरू भने जाने गर्दैनन् । तर, तत्कालीन राजपाका नेता तथा कार्यकर्ताहरू बबरमहलमै भेटिन्छन् । जसपाका नेता राजेन्द्र महतो पनि बबरमहलमै भेटिन्छन् । उनी पनि बालकुमारी सकेसम्म जान्नन् ।
जसपा नेता तथा ठाकुर निकट मनिष मिश्रले बबरमहल पायक पर्ने भएकोले पार्टीका नेताहरू बबरमहल पुग्ने गरेको बताए । ‘बालकुमारी साँघुरो ठाउँ छ । ठाउँ पनि त्यति पायक छैन । त्यसैले हामीलाई बबरमहलमै सजिलो पर्छ’ मिश्रले भने । ठाकुर भक्तपुरको सानोठिमी बस्छन् । दूरीको दृष्टिले उनको लागि बबरमहल भन्दा बालकुमारी नजिक पर्छ ।
जसपाको संसदीय दलका कार्यालय पनि अलग अलग ठाउँमा छन् । सिंहदरबारमा तत्कालीन राजपा र तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालय अलग अलग ठाउँमा छन् । तत्कालीन समाजवादीको संसदीय दलको नेता उपेन्द्र यादव हुन् भने तत्कालीन राजपाको संसदीय दलको नेता ठाकुर हुन् । तत्कालीन राजपा र समाजवादीबीच एकीकरण भए पनि दुवै पार्टीका संसदीय दलको समायोजन अझै हुन सकेको छैन ।
गत बैशाखमा तत्कालीन राजपा र तत्कालीन समाजवादीबीच एकीकरण भई जसपा गठन भएपछि जसपाको पार्टी कार्यालय तत्कालीन समाजवादीको पार्टी कार्यालय रहेको बालकुमारीमा राख्ने र पार्टीका भ्रातृ सङ्गठनका कार्यालयहरू बबरमहलमा राख्ने सहमति भएको थियो । तर अहिले दुवै ठाउँमा अलग–अलग पार्टी कार्यालय जस्तो देखिएका छन् ।
गत चैत महिनामा तत्कालीन समाजवादीका अध्यक्ष यादवले तत्कालीन समाजवादीका नेताहरूलाई बोलाएर धनुषाको हारसरमा कार्यकर्ता पशिक्षण गराए । प्रशिक्षण कार्यक्रम तत्कालीन राजपाका नेता तथा कार्यकर्ताहरूलाई खबर नै गरिएको थिएन । उक्त कार्यक्रममा प्रमुख अतिथि यादव आफैँ थिए । तत्कालीन समाजवादी पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षण दिन तत्कालीन समाजवादीका नेताहरू डम्मर खतिवडा र हेमराज राई धनुषा पुगेका थिए ।
नयाँ समीकरण निर्माणको विषयमा जसपाभित्र गम्भीर विवाद शुरु भएको छ । एउटा धारको नेतृत्व ठाकुर र अर्को धारको नेतृत्व यादवले गरेका छन् । एमालेको केपी शर्मा ओलीसँग कुनै पनि अवस्थामा मिल्न हुँदैन भन्ने लाइनको नेतृत्व यादवले गरेको छन् भने ओलीसँग मिलेर समीकरण निर्माण गर्नुपर्छ भन्ने लाइनको अगुवाइ ठाकुरले गरेका छन् ।