arrow

गृहमन्त्रीले माओवादी निकट कर्मचारीलाई गृहमा प्रवेश रोके

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
badal2.JPG

काठमाडौं । गृह मन्त्रालयमा सरुवा गरी पठाइएका माओवादी केन्द्रसँग निकट सहसचिव सरहका एक उच्च कर्मचारीलाई गृहमन्त्री रामबहादुर थापा बादलले पुनः वन मन्त्रालयमै  फर्काएका छन् । ती कर्मचारीले गृहमा एक दिन पनि हाजिरी गर्न  पाएनन् । 

सहसचिव नवराज ढुङ्गाना माओवादी केन्द्रका नेता मातृका यादव उद्योग मन्त्री भएको बेला यादवको निजी सचिव भई काम गरेका थिए । उनी माओवादी केन्द्रसँग निकट कर्मचारी मानिन्छन् । उनको सम्बन्ध सोझै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग रहेको ढुङ्गाना निकट कर्मचारीहरु बताउँछन् । तर, राजनीति फेरिए पछि उनलाई गृहमन्त्री बादलले गृहमा प्रवेश गर्न रोकेका छन्  ।

नेपाल कम्युनिस्ट पार्टी फुट्नु भन्दा अघि करिब डेढ वर्ष पहिले ढुङ्गाना गृह मन्त्रालयमै काम गरे । त्यसपछि उनी मातृका यादवको निजी सचिवालयमा बसे ।  उद्योग मन्त्रालयबाट उनी वनमा गए । वनमा हुँदा उनी उपसचिवबाट सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भए पछि सङ्घीय मामिला मन्त्रालयले उनलाई गृह मन्त्रालयमा सरुवा गर्‍यो । उनी प्रशासन समूहका कर्मचारी हुन् । 

तर गृह मन्त्रालयले ढुङ्गानाको  सरुवा स्वीकार गरेन । त्यसपछि उनी फेरि वनमै फकिए । अहिले वनमा ३ जना प्रशासन समूहका सहसचिव कार्यरत छन् । जब कि, वनमा प्रशासन समूहमा  एक जना मात्र सहसचिवको दरबन्दी छ । वनमा ढुङ्गाना बाहेक बद्रीराज अर्याल र उमकान्त आचार्य कार्यरत छन् । उनीहरु प्रशासन समूहका हुन् । आचार्य भरखरै मात्र उपसचिवबाट सहसचिवमा बढुवा भएका छन् । केही दिनमै उनी वनबाट अन्य कार्यालय सरुवा हुने भएका छन् । आचार्य सरुवा भए पनि वनमा दुई जना प्रशासन समूहका सहसचिव कार्यरत हुनेछन् । स्रोत भन्छ, माओवादी केन्द्रले बादललाई कारबाही गरे पछि बादलले यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘यसको सोझो असर  कर्मचारीमा क्षेत्रमा देखियो’वनका एक उपसचिवले भने ।  

यसबारेमा सम्पर्क गर्न खोज्दा ढुङ्गाना सम्पर्कमै आउन चाहेनन् । स्रोतका अनुसार गृहले फर्काए पछि सङ्घीय मन्त्रालयले उनलाई अन्य कुनै ठाउँमा मिलाउन तयारी गरेको छ । तर उनले सकेसम्म काठमाडौमै बस्ने चाहना राखेका छन् । 

माओवादी केन्द्र सत्तामा हुँदा अधिकांश समय उनी सिंहदरबारमै बसे । माओवादी केन्द्र सरकार बाहिर हुँदा उनी मर्कामा पर्ने भएका छन् ढुङ्गाना निकट स्रोतका अनुसार उनकै चाहनामा सङ्घीयले उनलाई गृहमा सरुवा गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ