arrow
ADVERTISEMENT

माधव पक्षका २७ संघीय र पाँच प्रदेश सांसदलाई सोधियो स्पष्टीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
madhav-kumar-nepal-kp-sharma-oli.jpg

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालपक्षीय संघीय संसदका २७ र कर्णाली प्रदेशका पाँच सांसद गरी ३२ जनालाई स्पष्टीकरण सोधेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नेपाल पक्षका ३२ सांसदहरुलाई स्पष्टीकरण पत्र पठाउँदै तीन दिन भित्र कारणसहित जवाफ दिन भनेका हुन् ।

स्पष्टीकरण पत्रमा ‘छुट्टै राजनीतिक दल गठन गरेकोले कारबाही किन नगर्ने ?’भन्दै प्रश्न सोधिएको छ ।  यस्तै पत्रमा ‘एमालेको नाम र चिन्ह दुरुपयोग गरेको भन्दै  कारबाही किन नगर्ने ?’भनेर प्रश्न गरिएको छ ।

पार्टीको नाम र सुर्य निर्वाचन चिन्ह दुरुपयोग गरी राजनैतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्न गतिविधि संचालन गरेको दाबी पत्रमा गरिएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले गरेको निर्णय अनुसार तपाईलाई उपरोक्त आधार कारणहरु समेतबाट तपाईले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (क)का विभिन्न उपधाराहरुमा उल्लिखित व्यवस्थाहरु विपरित अनुशासन उलंघन गर्नुभएको प्रष्ट देखिएकोले तपाईलाई सो विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम किन कार्वाही नगर्ने ?’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

यस्तै ‘राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा १(ग) वमोजिम तपाईले छुट्टै राजनैतिक दल गठन गरेको मा किन कारवाही नगर्ने ? र तपाईलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारण सहित तीन दिन भित्र स्पष्टिकरण पेश गर्नुहुन निर्देशन गर्दछु’ पत्रमा भनिएको छ ।

पत्रमा जुनसुकै बेला पनि थप कडा कारबाही गर्नु पर्ने अवस्था आउन सक्नेतर्फ समेत सचेत गराइएको छ । पार्टी बिरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन स्पष्टीकरण पत्र लेखिएको उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ