arrow

लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

logo
रासस–एएफपी
प्रकाशित २०७८ वैशाख ८ बुधबार
whitehouse-usa.jpg

वासिङ्टन।  कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भए पनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकीहरु काममा पुनः फर्कन चाहिरहेका छैनन् ।

“यो कोभिड सङ्कटका लागि विरोधाभास हो,” अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले बताए । “हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनाहरूमा जोखिम बढ्नेछ ।”

कोभिड–१९ का खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन थालेको छ भने कम्पनीहरूले पनि बढ्दो माग पूरा गर्न भर्ती गर्न थालेका छन् । 

विश्लेषकहरूको भनाइमा, सबै बेरोजगार व्यक्तिहरू आफ्नो जागिरमा फिर्ता हुन तयार देखिएका छैनन् । 

“मुख्य मुद्दा नै हामीबीच अझै पनि महामारी छ, र कामको खोजी गर्नेहरूमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठुलो चिन्ता छ,” जिपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले भनिन् । 

अमेरिकी जनसङ्ख्याका एक चौथाइले पूर्ण खोप लगाइसकेका छन् । यो संख्या युरोपको भन्दा बढी छ भने धेरै प्रमुख अर्थतन्त्र भएका मुलुकभन्दा निकै ज्यादा छ । तर यसको बाबजुद देशको तीन चौथाइ भाग कोभिड–१९ को सङ्क्रमण हुने जोखिममा छ । 

जर्जटाउन विश्वविद्यालयको फ्युचरएडका अनुसार कोभिड महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालयहरू पूर्णकालीन कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकहरूका लागि यो अर्को चुनौती हो । 

विश्वकै सबैभन्दा ठुलो अर्थव्यवस्था भएको संयुक्तराज्य अमेरिकामा कोभिड–१९ को महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो जसमध्ये आधाभन्दा बढी अर्थात् एक करोड ४० लाख रोजगारी पुनर्स्थापना भइसकेको छ । 

तैपनि, स्व–रोजगारमा रहेका समेत झण्डै एक करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन्, र धेरैले आंशिक समय काम गरिरहेका छन् किनभने उनीहरू पूर्ण समय काम गर्न पाउँदैनन् ।

तर अर्थशास्त्री डाकोले मजदूरको अभाव धेरै क्षेत्रमा देखिएको बताउनुभयो । खुल्ला, खाद्य सेवा, आतिथ्य र मनोरञ्जन जस्ता कामदार कटौती भएका क्षेत्रमा श्रमजीवीको माग बढेको उनको भनाई छ । 

गत फेब्रुअरीको आखिरी र अप्रिलको शुरुको बीचको अवधिमा गरिएको अमेरिकी व्यवसायको सर्वेक्षणमा केन्द्रीय बैंकले भनेको छ, “कर्मचारी भर्तीमा चुनौती व्यापक देखिएको छ, खासगरी यो समस्या न्यून–ज्याला वा घण्टे कामदारका लागि बढी देखिएको छ ।”

भर्जिनियाको रिचमन्डमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणमा सहभागी एक होटेल व्यवसायीले आफूहरूले फ्रन्ट डेस्कका कामदार भर्ती गर्न सकेको तर सरसफाईका मजदूर भेट्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले सरसफाईमा काम गर्न धेरैले अरुचि देखाएको बताए ।

बैंकको शिकागो शाखाले गरेको सर्वेक्षणमा बेरोजगार मजदुरलाई घरमै राख्ने थुप्रै कारकहरू रहेको जनाएको छ जसमा सरकारले उपलब्ध गराउने वित्तीय सहयोग पनि एउटा प्रमुख रहेको छ, जस्तै आगामी अगस्टसम्म उनीहरूले सरकारबाट साप्ताहिक थप ३०० डलर बेरोजगार भत्ता पाउने छन् । 

शिकागो शाखाले मानिसहरू रोजगारीमा फर्कन कठिनाइ हुनुमा बालबच्चाको स्याहार अर्को समस्या रहेको जनाएको छ । भाइरसको चिन्ता, सार्वजनिक यातायात प्राप्त गर्न कठिनाइ र जागिर खोज्ने थकान जस्ता प्रक्रियाले पनि जटिलता थपेको छ । 

अमेजन, कस्टको, टार्गेट र वाल्मार्ट जस्ता कतिपय ठुला कम्पनीले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ