arrow

ओली नेपाल दुई घण्टे वार्ता : नेपाललाई १० गतेको बैठकमा निम्ता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख ८ बुधबार
oli-nepal.jpg

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तामा के कुराकानी भयो भन्ने सर्वत्र चासो छ। नक्सालस्थित होटेल मारियटमा बुधवार भएको वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेता नेपाललाई १० गते शुक्रवार बस्ने पार्टी बैठकमा डाकेका हुन्।

दुई नेता लामो संवादपछि होटेलबाट बाहिरिँदा भने प्रसन्न मुद्रामा थिए। सञ्चार कर्मीहरूले जिज्ञासा राख्न चाहे पनि दुवै नेताहरूले भेटमा भएको कुराकानीबारे खुल्न चाहेनन्।

तर सोही बखत होटेलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोती दुगडले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। ‘एमाले भित्रको विवाद अब मिल्छ त ?,’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,‘संवाद सकारात्मक छ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओली र नेता नेपालबीचको संवादका लागि होटेलको ९११ नम्बरको कोठा बुक गरिएको थियो। जुन कोठा दुगडकै नाममा बुक भएको थियो।

नेपाल पक्षीय नेताहरूका अनुसार भेटमा भएको कुराकानी पहिले नेपालले आफ्ना समूहका नेताहरूलाई सुनाउन चाहेका छन्। उनले बिहीबार वार्ताबारे आफू निकटका नेताहरूलाई जानकारी गराउने बुझिएको छ।

प्रधानमन्त्री ओली निकटका नेताहरू भने प्रधानमन्त्री ओलीले नेपाललाई पार्टीलाई हानी पुग्ने गतिविधि नगर्न आग्रह गरेको, त्यस्ता गतिविधि नगरे कारबाही रोक्ने र खोसिएका जिम्मेवारी पनि फिर्ता गर्न सकिने आश्वासन दिएको बताउँछन्।

दुई नेता बीचको भेटपछि ‘१० गते शुक्रवार बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता नेपाल जान्छन् त ?’ भन्ने चासोसमेत सबै तिर छ। सो बैठकमा नेता नेपाल सहभागी बन्ने अवस्था आए एमाले विवाद मत्थर हुनसक्छ। तर, ओलीले सो बैठकमा गुटगत स्वार्थ नल्याउन नेपाललाई भनेको स्रोत बताउँछ।

नेपाल पक्षले ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याए नेपाल पक्षले धोका दिन सक्ने अनुमानपछि ओलीले नेपालसँग वार्ताको प्रयास गरेका हुन्। यो वार्ता ओलीको फकाउने र अलमलाउने दाउ मात्र पनि हुन सक्ने भन्दै नेपाल पक्षका नेताहरू सशङ्कित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ