arrow

नयाँ सरकार गठनको ‘गफ’ ओझेलमा 

कांग्रेस महाधिवेशनमा अल्झदै, माओवादी र जसपा न यता न उता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
KP-oli-Prachanda-Shre-bdr-deuwa.jpeg

काठमाडौं । पछिल्लो समय केपी ओली सरकारको विकल्प खोज्न भन्दै सत्ता गठवन्धनका लागि हौसिएका नेपाली कांग्रेस माओवादी केन्द्र र जसपाको सत्ता गठवन्धन ‘गफ’ ओझेलमा परेको छ ।

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयलाई अहिले खासै प्राथमिकतामा राखेको छैन । कारण भने उसले संख्या अपुगलाई देखाएको छ ।

कांग्रेसले सो बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निणर्य गरेको भएपनि संख्या सुनिश्चित नभएको भन्दै कांग्रेसले सत्ताको नेतृत्व गर्न अरुची देखाउँदै आइरहेको हो । 

सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेण्डा बनाउनुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवाले २० चैतको बैठकबाट रुची नहुँदा नहुँदै पनि सो निर्णय गराएका थिए । 

त्यसपछि कांग्रेसले गठवन्धन बनाउने विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग पनि छलफल गरेको थियो । छलफलमा सहभागी जसपाका नेता महन्थ ठाकुरलेसमेत कांग्रेसलाई सत्ताको नेतृत्व गर्न रुची नदेखिएको बताउँदै आएका छन् । 

गत सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सरकार गठनको विषय प्रवेश नै भएन । कांग्रेसकै नेताहरुलेसमेत हाल कांग्रेसले निर्णय गर्दैमा सरकार बन्ने अवस्था नरहेको तर प्रतिपक्ष सधैं सरकारको नेतृत्वका लागि प्रयासरत रहने बताउँदै आइरहेका छन् । 

कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महत पार्टी बैठकमार्फत सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भएपनि संख्या पर्याप्त नरहेको बताउँछन् ।

‘सरकारको नेतृत्वका लागि पहल गर्ने निणर्य भएको हो, तर संख्या छैन, संख्या कसरी सुनिश्चित गर्ने भन्ने मूल कुरा हो,’ कांग्रेस सहमहामन्त्री महतले हाम्राकुरासँग भने ।

माओवादीको ओलीलाई समर्थन जारी

कांग्रेस सभापति देउवा स्वयंले समेत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सरकार गठनको विषय ओझेलमा परेको बताउँदै आइरहेका छन् ।

देउवाले औपचारिक कार्यक्रमहरुमा नै ‘माओवादी केन्द्रले सरकार गठनका लागि पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्यो नि’ भन्दै सरकारलाई माओवादीले दिएको समर्थनकै कारण ‘सरकारबाट ओलीलाई बिदा गर्न समस्या भएको’ बताउँदै आएका छन् । देउवाले पटक पटक सार्वजनिक कार्यक्रममा यो अभिव्यक्ति दिंदै आएका हुन् । 

उनले माओवादीका नेताहरुलाईसमेत सरकार गठनमा अघि बढ्न सरकारलाई दिएको समर्थन फिर्ता लिएर आउन भन्दै आएका छन् भने जसपाका नेताहरुलाईसमेत मागमा प्रस्ट भएर आउन आग्रह गरिसकेका छन् । 

माओवादी केन्द्रले भने विगत केही दिन यता हुँदै आइरहेका आन्तरिक बैठकहरुबाट ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन पत्र मात्रै पठाउन बाँकी रहेको’ भन्ने प्रतिक्रिया दिदैं आएको छ ।

जसपाको खुट्टा दुई तिरै

यस्तै जसपा पनि कुन र कस्तो सहमतीमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । उसले आफ्ना जेलमा रहेका नेता रेशम चौधरीको रिहाइ र आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ताको विषयलाई अहिले सत्ता साझेदारीको मुख्य मुद्दा बनाइरहेको छ ।

जसपाले यी मुद्दा कांग्रेस नेतृत्व र प्रधानमन्त्री ओलीलाई राख्दै आइरहेको छ । कांग्रेससमेत यही कारण जसपासँग सशंकित छ । हाल जसपाको झुकाव कांग्रेससँग भन्दा बढी प्रधानमन्त्री ओलीको दल एमालेतर्फ देखिएको छ । सरकार पक्षसँग झुकाव राख्नेमा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत छन् ।

यस्तै उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, लीला सिटौला लगायतका नेताहरु भने ओली नेतृत्वको सरकारलाई सघाउन नहुने पक्षमा छन् । जसपा भित्रको यो पक्ष प्रतिगमन बिरुद्ध आन्दोलनमा उभिएका शक्तिहरु एक ठाउँमा उभिएर नयाँ सरकार गठन गरिने बताउँदै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ