arrow

‘अनुचित माग राखिएपछि वार्ता असफल भयो’ – राजन भट्टराई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
rajan-bhattarai.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल बीचको वार्ता अनुचित मागका कारण असफल भएको ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् । 

बुधबार र बिहीबार गरी दुई दिनसम्म बसेको वार्ता असफल भएका बारेमा जानकारी दिँदै भट्टराईले नेता नेपालले अनुचित माग राखेकाले वार्ता असफल भएको बताएका हुन् । 

उनले आफूहरुले गरेका गल्तीहरुलाई पनि महशुस गर्न सक्नुपर्नेमा जोड दिँदै नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा भने, ‘उहाँहरु कहाँ हुनुहुन्थ्यो भन्ने महशुस गर्नुपर्यो । जेठ २ तिर जाने भनेको दुई वटा पार्टी बनाउने भनेको हो । पार्टी विभाजनमा जाने भनिएको हो । तर यो बीचको समयमा उहाँहरुले गरेका गल्तीहरुलाई महशुस नगर्ने ?’ 

भट्टराईले ‘आफूले हिजो गरेका सबै खालका कूकर्महरु चाहिँ सही अनि अहिले अध्यक्ष ओलीले फागुन २८ गते गरेका निर्णय गलत भन्ने हो र ?’ भन्ने नेपाल पक्षलाई प्रतिप्रश्नसमेत गरेका छन् ।  

त्यो निर्णय बदर हुन नसक्ने स्पष्ट पार्दै भट्टराईले ‘सही र गलत के रहेछ भनेर छुट्टाउनका लागि पनि बदर गर्ने कुरा आउँदैन’ भनेका छन् ।  

माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुलाई दिएको जिम्मेवारीबारे उनले भने, ‘केपी ओली अप्ठेरोमा परेका बेलामा साथ दिन माओवादी केन्द्रबाट नेकपा एमालेमा आएका साथीहरुलाई धोका दिएर फेरि सडकमा छाडिदिने कुरा आउँदैन । उहाँहरुका बारेमा गरिएका निर्णय फिर्ता हुँदैनन् ।’ 

खनाल–नेपाल पक्षले केपी ओलीसँग बस्न सकिँदैन भनेर मानसिकता बनाइसकेको आरोपसमेत उनले लगाएका छन् ।  

बस्दै महाधिवेशन मूल आयोजक समितिको बैठक
एमालेभित्रको रडाको उत्कर्षमा पुगिरहँदा खनाल–नेपाल पक्ष र ओली पक्षबीच कुनै सहमति हुन सकेको छैन । संस्थापन ओली पक्षले खनाल–नेपाल पक्षलाई कुनै जिम्मेवारी दिने योजनासमेत बनाएको छैन । फागुन २८ गते अध्यक्ष र महासचिव बाहेक सबैलाई जिम्मेवारीबाट मुक्त गरेपछि ओलीविरुद्ध खनाल–नेपाल पक्ष आक्रोशित छ । 

विधान मिचेको आरोप लगाइरहेको छ । तर ओली पक्ष रोकिएको छैन । ओली पक्षले पार्टीको आगामी महाधिवेशन गर्नका लागि महाधिवेशन मूल आयोजक समितिसमेत बनाइसकेको छ । 

समितिले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ । यसको बैठक शुक्रबार बस्दैछ । नेता भट्टराईले खनाल–नेपाल पक्ष बैठकमा नआए पनि समिति अगाडि बढ्ने बताए । 

सहमतिमा अगाडि बढ्ने बारेमा भट्टराई भन्छन्, ‘उहाँहरुका भनाइ मान्ने हो भने उहाँहरुले ४ पटक केपी ओलीलाई निष्काशन गर्नुभयो । सुवास नेम्वाङलाई निष्काशन गर्नुभयो । विष्णु पौडेललाई निष्काशन गर्नुभयो । उहाँहरुले विगतमा जे गल्ती गर्नुभयो हामीले त केही पनि गरेका छैनौं । हिजो आफूले गरेका गल्ती छाडेर पार्टीमा फर्किन अनुरोध छ ।’

उनले अगाडि भने, ‘विगतमा गरेका गल्तीहरु अब यस्तो हुँदैन भनेर नयाँ पुस्तालाई दिनका लागि पनि उहाँहरुले गल्ती स्वीकारेर फर्किनु पर्छ ।’

पार्टी त फुट्ने भयो नि भन्ने प्रश्नमा भट्टराईले भने, ‘विग्रहको बाटोमा उहाँहरु दुई वर्षदेखि लागिरहनु भएको छ ।’

पार्टीभित्रैको किचलोले सरकार अगाडि बढ्ने अवस्था नदेखिनेतर्फको प्रश्नमा उनले भने, ‘सरकार अल्पमतमा पर्ला त्यो पछिको कुरा हो । तर सरकार जोगाउने नाममा अनुचित कुराहरुमा सम्झौता हुन्न ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ