arrow

लकडाउन गर्नुपर्ने बेला आयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी तीव्र गतिले फैलँदा अब लकडाउन गर्नुपर्ने बेला आएको विज्ञहरुले बताएका छन् । नेपालगञ्जमा लकडाउन भइसकेको भने भने केही क्षेत्रमा कडाइसमेत गरिएको छ । 

तर कोरोनाको स्थिति भयावह हुँदा केन्द्र सरकारले भने कुनै चासो देखाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुरोधलाई सरकारले सुनेको नसुन्यै गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसमेत निरीह देखिएका छन् । 

सरकारले कुनै पनि हालतमा लकडाउन लगाउन चाहँदैन । स्वास्थ्य मापदण्ड स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले नै पालना गरेका छैनन् । उनले अरुलाई अर्ति दिँदै आए पनि आफू भने सभा सम्मेलनमा जोडतोडले सहभागी हुँदै आएका छन् । 

यसैबीच कोरोनाको दोस्रो लहरले अस्पतालहरुमा उपचारको समस्या हुन थालेको छ भने अक्सिजनको अभाव भएको छ । त्यस्तै कोरोनाको बेलामा प्रयोग हुँदै आएको रेमडेसिभिर औषधिको समेत अभाव भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको दुई साता कोरोना संक्रमित थप तीन लाख थपिने प्रक्षेपण गरेको छ । 

विशेषज्ञका हिसाबले हेर्दा पनि लकडाउन लगाउनु पर्ने अवस्था आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् । 

उनी भन्छन्, ‘विशेषज्ञका हिसाबले देख्दा लकडाउन गर्नुपर्ने बेला आएको छ । बिरामीहरुलाई व्यवस्थापन गर्नका लागि पनि लकडाउन गर्नुपर्छ ।’

पछिल्लो समय कोरोनाका बिरामीहरु बढ्दोमात्र छैनन् कम समयमै उनीहरुको स्वास्थ्य गम्भीर बन्दै गएको पाइएको छ । यसरी गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गए भने उपचार गर्ने ठाउँसमेत नहुने उनले बताएका छन् । 

उनले लकडाउन देशैभर गर्नुपर्ने नभइ जहाँ जोखिम छ त्यहीँ गर्नुपर्नेमा जोड दिएका छन् । डा. राजभण्डारी भन्छन्, ‘कोरोनाको नियन्त्रणका लागि लकडाउन गर्नुपर्छ । गम्भीर प्रकृतिका बिरामीका घटनाहरु आइरहेका छन् । व्यवस्थापन गर्न अप्ठेरो भइरहेको छ ।’

उनले अस्पतालको क्षमता पनि वृद्धि गर्दै लैजानुपर्ने भएको भन्दै समानान्तर हिसाबले अगाडि बढ्नु पर्ने बताउँछन् । 

उनी भन्छन्, ‘समानान्तर तरिकाले जानका लागि पनि लकडाउन गर्नु जरुरी छ ।’

लकडाउन गर्दा संक्रमितमा कमी आउने र भएका संक्रमितको उचित उपचार गर्न सकिने समय मिल्नेमा विज्ञहरुको जोड छ ।  

सरकारले गत वर्षको चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर देशैभर लामो समय लकडाउन गर्दा त्यसले नकारात्मक प्रभाव पारेको थियो । 

आर्थिक क्षेत्र चौपट भएपछि जवरजस्ती लकडाउन उल्लंघन भएको थियो । तर काठमाडौं लगायतका मुख्य शहरहरुमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलदासमेत सरकार भने मौन बसिरहेको छ । 

शहरमा स्वास्थ्यमापदण्डको पालना भएको पनि पाइँदैन । 

तीन तहका सरकार भए पनि एकले अर्कालाई असहयोगको भावनाले हेर्दा पनि मापदण्ड पालनामा समस्या आएको बुझ्न सकिन्छ । सीसीएमसीको बैठकले सरकारलाई कम्तीमा तीन हप्ता विद्यालयहरु बन्द गर्न सिफारिस गरे पनि त्यसको पालना हुन सकेन । 

अहिले दिनानुदिन बालबालिका संक्रमित बढ्ने क्रम जारी रहेको छ । अहिलेको कोरोनाले पहिले एक जनाबाट ५–६ जनासम्म सर्दै आएकामा अहिले ४० देखि ७० जनासम्मलाई सर्दै आएको छ । 

युके भेरियन्ट निकै खतरनाक भए पनि यतातर्फ चासो कम गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ