arrow

ओलीले बनाएको एमालेको स्थायी कमिटीमा महिला सहभागिता शून्य

नेम्वाङ भन्छन् - ‘ध्यानमा राखिन्छ'

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
kp-oli_1617770534.jpg

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीलाई पुनर्गठन गर्दै बनाएको १९ सदस्यीय कमिटीमा महिलाको प्रतिनिधित्व तथा सहभागिता शून्य देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले शुक्रवार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकबाट पार्टीको स्थायी कमिटी पुनर्गठन गर्दै १९ सदस्यीय बनाएका छन् । तर उनले बनाएको कमिटीमा एक जना पनि महिला अटाएनन् । 

एमाले नेता तथा पुनर्गठित स्थायी कमिटीका सदस्य सुवास नेम्वाङलाई हामीले सोध्यौं,‘तपाइको पार्टीले बनाएको स्थायी कमिटीमा महिला सहभागिता किन शून्य ?’, हाम्राकुराको जिज्ञासामा उनले भने, ‘ध्यानमा राखिन्छ ।’ नेम्वाङले अहिले तत्काल अन्य सदस्य थप नहुनेसमेत बताए । ‘हाललाई यही हो, अध्यक्षसँग सल्लाह हुन्छ ।’

शुत्रबार बसेको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपाल पक्ष भने उपस्थित भएन । सो समूहको उपस्थिति बिना नै एमाले अध्यक्ष ओलीले स्थायी कमिटी घोषणा गरेका हुन् । 

यसैगरी पुनर्गठित स्थायी कमिटीमा नेता वामदेव गौतमलाई भने समावेश गरिएको छ । उनी एमाले एकता अभियानको नाममा गतिविधि गर्दै आइरहेका छन् । 

ओलीले पुनर्गठित स्थायी कमिटीमा महासचिव ईश्वर पोखरेल,  नेताहरू विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शङ्कर पोखरेल, सुवास नेम्बाङ, केशव बडाल र पुष्पराज कँडेललाई राखेका छन् ।

यसैगरी एमाले र माओवादी केन्द्रको एकतापछि बनेको दल नेकपामा स्थायी कमिटीमा रहेका पूर्व माओवादीका चार नेता रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई भने स्थायी कमिटीमा राखिएको छ ।  

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता थिए भने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल उपाध्यक्ष, घनश्याम भूसाल उपमहासचिव र गोकणर् बिष्ट, भीम आचार्य र योगेश भट्टराई सचिव थिए । सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुजी पन्त, अमृत बोहोरा स्थायी कमिटी सदस्य थिए । तर अहिले यी कसैलाई पनि स्थायी कमिटीमा राखिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ