arrow

‘प्रतिनिधि सभाको उपनिर्वाचन असार पहिलो साता’

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १२ आइतबार
election-commission1.jpg

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ रिक्त सदस्य पदका लागि असार पहिलो साता उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । 

हाल राष्ट्रिय सभातर्फको रिक्त एक पदका लागि ६ जेठमा उपनिर्वाचन घोषणा भइसकेकोमा असारको पहिलो साता प्रतिनिधि सभातर्फको रिक्त पदमा उपनिर्वाचन गर्ने गरी आयोगले छलफल गरिरहेको हो । प्रतिनिधि सभातर्फ चार जना सदस्यको पद रिक्त छ । 

आयोगले प्रदेश सभातर्फ रिक्त पदमा प्रतिनिधि सभातर्फसँगै एकै पटक उपनिर्वाचन गर्न सरकारलाई प्रस्ताव गरिसकेको छ । हालसम्म प्रदेश सभातर्फतर्फ १३ जना सदस्यको पद रिक्त छ । 

निर्वाचन कानुन अनुसार राष्ट्रिय सभातर्फको निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने व्यवस्था छ । 

‘प्रतिनिधि सभातर्फको निर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले आफै तोक्न सक्छ, त्यही व्यवस्था अनुसार प्रतिनिधि र प्रदेश सभाको मिति पनि छिटै तोक्ने तयारीमा आयोग छ, सम्भवतः असारको पहिलो साता प्रतिनिधि सभा र प्रदेश सभाको रिक्त पदमा उपनिर्वाचन हुन्छ, हामी त्यही तयारीमा छौं,’ आयोगका एक पदाधिकारीले हाम्राकुरासँग भने ।

आयोगले १५ असारपछि वर्षा लाग्ने भन्दै त्यसपछि १५ असोजअघि उपनिर्वाचन गर्न नसकिने बताएको छ । तर, असारको पहिलो सातामा कुनै कारणले निर्वाचन नहुने अवस्था भएमा भने १५ असोजपछि २५ असोज भित्रमा मात्रै उपनिर्वाचन गर्न सकिने आयोगको भनाइ छ । 

आयोगले प्रतिनिधि सभा तर्फ चार सहित प्रदेश सभातर्फ प्रदेश १ मा एक, प्रदेश २ मा ४, लुम्बिनी प्रदेशमा २ र  कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा १ गरी १३ रिक्त पदमा उपनिर्वाचन गर्नु पर्ने विवरण प्राप्त भएको बताएको छ । 

प्रतिनिधि सभातर्फ लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीको पद रिक्त छ । उनीहरू माओवादी केन्द्रबाट प्रतिनिधि सभामा सांसद बनेका थिए । 

प्रतिनिधि र प्रदेश सभाको हकमा ६ महिना भन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा रिक्त पद पूर्ति गर्न उपनिर्वाचन गर्न सकिने कानुनी व्यवस्था छ ।

प्रदेश सभातर्फ प्रदेश १ का टङ्क आङ्बुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको स्थान रिक्त छ । यसैगरी प्रदेश २ मा प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरूको स्थानसमेत रिक्त छ । 

यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पनि नेकपा एमालेले कारबाही गरेपछि उनीहरूको पदसमेत रिक्त भएको छ । सो प्रदेशमा धर्मराज रेग्मीको स्थान पनि रिक्त छ । यस्तै सुदूरपश्चिममा एक सदस्यको पद रिक्त छ । 

आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यी विषयमा जानकारी गराइसकेको छ । गत ४ वैशाखमा प्रधानमन्त्री ओलीले संसद्मा रहेका मुख्य दलका नेताहरूसहित बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पनि प्रतिनिधि सभातर्फ रिक्त रहेका पदमा उपनिर्वाचन गर्ने बारेमा छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ