arrow

ट्रान्जिटमा वा कोरोना परीक्षणका लागि मात्रै आउने विदेशीको पीसीआर परीक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
health_ministry_1617956882.JPG

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा ट्रान्जिट बनाएर आउने तथा कोरोना परीक्षणका लागि मात्रै आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिक, कूटनैतिक निकाय तथा मिसनका कर्मचारी, तिनका परिवार र नेपाल बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्न निर्देशन दिएको हो ।  निर्देशन विपरीत परीक्षण गराएको पाइए त्यस्ता स्वास्थ्य संस्थालाई कारबाही गर्ने विज्ञप्तिमा भनिएको छ ।  

‘प्रयोगशालाहरूले कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परीक्षणको व्यवस्था गर्दा नेपाली नागरिक, कूटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरू र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएर कुनै पनि विदेशी नागरिकहरूको कोभिड १९ परीक्षण नगरी दिनु हुन नेपालका सबै प्रयोगशालाहरूलाई निर्देशन गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

निर्देशन विपरीत कुनै पनि प्रयोगशालाहरू वा व्यक्तिले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियमानुसार कारबाही गरिने सूचनामा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ