arrow

मनमोहन अधिकारीको २२ औं स्मृति, यसो भन्छन् ईश्वर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
manmohan-ishwor.jpg

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा एमालेका संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सोमबार २२ औं स्मृति दिवस । 

उनको स्मृतिमा नेकपा एमाले र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड– १९ को संक्रमणका कारण यस वर्ष औपचारिक कार्यक्रम नराखिएको प्रतिष्ठानले जनाएको छ । 

स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएका छन् । 

‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्’, पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको उल्लेख गर्दै पोखरेलले भनेका छन्– ‘आजको यस विशेष दिनले नेकपा एमालेका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’

नेकपा एमालेका महासचिव रहेका पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको लोकप्रिय सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।  ‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । तत्कालीन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उहाँको नेतृत्वको तत्कालीन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन् ।’– विज्ञप्तिमा भनिएको छ । 

पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ