arrow

दिल्लीमा १८ बर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने

logo
एएनआई,
प्रकाशित २०७८ वैशाख १३ सोमबार
corona-vaccine-covid.jpg

नयाँ दिल्ली । भारतको दिल्ली प्रदेशमा १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गर्ने निर्णय भएको सोमबार जानकारी दिए ।

अहिले बचत रहेको एक करोड ३४ लाख खोप आम सर्वसाधारणलाई लगाउन थालिने उनले बताए ।

“दिल्ली सरकारले १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने व्यवस्था गर्ने निर्णय गरेको छ,” उनले भने ।

उनले अहिले भएको खोप सकिएपनि अरु खोप बचत नै रहने गरी व्यवस्था गर्न प्रयास गर्ने आश्वासन पनि दिए ।

सवैलाई निःशुल्क खोपको व्यवस्था गर्ने निर्णय अन्य प्रदेशहरूले भने यसअघि नै गरिसकेका थिए । दिल्ली बाहेक महाराष्ट्र, कर्नाटक, हरियाणा, ओडिसा, झारखण्ड र पश्चिम बङ्गालमा सबैलाई निःशुल्क खोपको व्यवस्था गरिएको हो ।  

आम नागरिकले कारोनाको खोप लगाएमा सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या न्युनिकरण हुने मुख्यमन्त्री केजरीवालले विश्वास लिएका छन् ।

जति धेरै जनालाई खोप लगाउन सकियो, त्यति धेरै महामारीलाई कम गर्न सकिने उनको भनाइ छ ।  

भारतमा प्राथमिकता निर्धारण गरेर उच्च प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन दिइएको थियो भने सर्वसाधारणलाई अहिले मात्र विभिन्न प्रदेशमा सुरु गरिएको छ ।

केन्द्रीय सरकारले भने आगामी मे १ देखि मात्रै देशभरीका १८ बर्ष माथिका सबैलाई खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेको थियो ।

भारतमा कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड र कोभ्याक्सिन खोप आँफै उत्पादन गर्दै विक्री वितरण हुँदै आएको छ ।



लोकप्रिय समाचार
नयाँ