arrow

कोरोना भाइरसः भारतमा थोरै राहत, थपिए ३ लाख १९ हजार संक्रमित, २७ सय ६२ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
corona-india-1618274644.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक दैनिक बढेर रेकर्ड बनिरहेको छ । सोमबार आइतबारको तुलनामा संक्रमितमा कमी आएको छ । सोमबार ३ लाख १९ हजार ३१५ जना संक्रमित थपिएका छन् । सोमबार २ हजार ७६२ जनाको ज्यान गएको छ । 

आइतबार (१२ बैशाख, २७ अप्रिल) अहिलेसम्मकै बढी संक्रमित र मृतक थपिएका थिए । आइतबार ३ लाख ५४ हजार ५३३ जना संक्रमित थपिएका थिए । यो कुनै पनि देशको अहिलेसम्मकै सबैभन्दा बढी हो । 

शनिबार ३ लाख ४८ हजार ९७९ संक्रमित थपिएका थिए । त्यस्तै २ हजार ८०६ जनाको ज्यान गएको थियो । यो भारतको सबैभन्दा धेरै हो । शनिबार २ हजार ७६१ जनाको ज्यान गएको थियो । यो एकैदिन थपिएको भारतको सबैभन्दा बढी हो । 

यसअघि शुक्रबार ३ लाख ४५ हजार भन्दा बढी संक्रमित थपिए । त्यसैगरी २ हजार ६२० जनाको ज्यान गयो । बिहीबार ३ लाख ३२ हजार ५०३ जना संक्रमित थपिएका थिए । बिहीबार २ हजार २५६ जनाको ज्यान गयो । बुधबार भारतमा ३ लाख १५ हजार ८०२ जना संक्रमित थपिएका थिए । त्यसैगरी बुधबार २ हजार १०२ जनाको ज्यान गएको थियो । 

योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७३५ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर २८ लाख ७७ हजार ४१ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८८० पुगेको छ । 

आइतबार २ लाख ४८ हजार ६३९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ४५ लाख ४५ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् । तर यीमध्ये पनि कतिपयलाई पुनः कोरोना भएर ज्यानैसमेत गएको छ । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । सोमबार ४८ हजार ७०० जना संक्रमित थपिएका छन् । हाल महाराष्ट्रमा मात्रै ६ लाख ७४ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् । सोमबार ५२४ जनाको ज्यान गएको छ । अहिलेसम्म ६५ हजार २८४ जनाको ज्यान गइसकेको छ । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ९२ हजार ३५८ पुगेका छन् । सोमबार २० हजार २०१ संक्रमित थपिए । दिल्लीमा सोमबार ३८० जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने १४ हजार ६२८ पुगेका छन् । 

उत्तर प्रदेशमा ३ लाख ४ हजार १९९ जना सक्रिय संक्रमित छन् । सोमबार ३३ हजार ५५१ संक्रमित थपिए । त्यस्तै मृतक २४९ थपिए ।

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ८९ हजार ६६० जना पुगेका छन् । सोमबार ११ हजार ८०१ संक्रमित थपिए । सोमबार ६७ जनाको ज्यान गएको छ । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ । 

अक्सिजन लुकाउनेलाई फाँसी दिन भारतीय अदालतले निर्देशन दिइसकेको छ । 

भारतमा अहिलेसम्म १४ करोड १९ लाख ११ हजार २२३ जनालाई कोरोनाको खोपसमेत लगाइसकिएको छ ।



लोकप्रिय समाचार
नयाँ