- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आफ्नै भाइले सम्पत्ति हत्याउन जबरजस्ती कागज गर्न दबाब दिएको भन्दै रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर-५ का ७२ वर्षीय रामचन्द्र साह तेलीले आफू र आफ्नो परिवारका सदस्यहरूको जीउ ज्यानको सुरक्षा माग गरेका छन् । आज (मङ्गलवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तेलीले कान्छो भाइ श्यामसुन्दर साह तेलीले प्रहरी लगाएर जग्गा फिर्ता गर्न दबाब दिएर सम्पूर्ण परिवारको ज्यान मार्ने धम्की दिँदै आएको सुनाएका हुन् ।
‘हामी सबै परिवार ६ महिनादेखि बाहिरै-बाहिरै भागेका छौ ।’ तेलीले भने,‘झुटा मुद्दा चलाउन प्रहरीले धम्की दिइरहेको छ ।’ उनले बाहिर बस्दा प्रहरीले फोन गरेर घरमा बोलाउने र घरमा जाँदा प्रहरीले नै जग्गा फिर्ता गर्न दबाब दिने गरेको पनि गुनासो पोखे । तेलीले भने,‘यो जग्गा मेरो बुवाले मेरी श्रीमती (बुहारी) को नाममा स्याहार सुसारबापत दिएको जग्गा हो ।’ बि.सं. २०७१ सालमा बुवा रामदेव साह तेलीले आफ्नी श्रीमती शान्तिदेवी तेलीलाई आफूहरूको स्याहारसुसार गरेबापत पाँच बिघा जग्गा पास गरिदिएको रामचन्द्रले स्मरण गराए ।
रामचन्द्र साह तेलीले अंशबन्डा भएको करिब २६ वर्ष पछि भाइ श्यामसुन्दर साह तेली र उनका तीन जना ज्वाँईहरू राजीव साह, विनोद प्रसाद साह र रवीन्द्र प्रताप साहले आफू र आफ्ना परिवारका सदस्यहरूको ज्यान मार्ने धम्की दिएको सुनाए । २०६१ सालमा माओवादी द्धन्द्धकालमा चन्दाको प्रलोभनमा पारी भाइले बुवा र मसँग जबरजस्ती कागज गराएको र बुवाको निधनपछि फिर्ता गर्ने बर्तनामा बनाएको पनि उनले स्मरण गराए । उनले भने,‘तत्कालीन माओवादी पार्टीका केही व्यक्तिहरू ल्याई घरसमेत घेरा हाली सम्पूर्ण परिवारको ज्यान मार्ने धम्की दिएपछि डराएर बुबा रामदेव साह तेली र मैले दबाबमा जबरजस्ती सहमतिको कागजमा सही गरेका थियौँ ।’
कार्यक्रममा रामचन्द्र साह तेलीका २९ वर्षीया छोरा रामगोविन्द साह तेलीले काकासँग २०३५ सालमा बुवाहरूको अंशबन्डा भएको र भिन्न भई बस्दै आएको बताए । तेलीले आफूसँग बस्दै आएका हजुरबुवा रामदेव साह तेलीको २०७५ सालमा मृत्यु भएको जानकारी दिए । उनले भने,‘२०५८-०५९ सालमा हजुरबुवाले काका श्यामसुन्दर र उनकी छोरी रञ्जु साहलाई दुई बिघा १५ कट्टा जग्गा अंश दिएका थिए । तर, बुवाहरूको अंशबन्डा त २०३५ सालमै भएको थियो ।’
उनले सोही कागजकै आधारमा करिब १६ वर्षपछि जिल्ला प्रशासन कार्यालय, रौतहटमा राजनीतिक दबाबमा काकाले कथित उजुरी दर्ता गराएको सुनाए । उनले श्यामसुन्दर साह तेलीकी पत्नी मिना कुमारी देवीले आफूमाथि रौतहट जिल्ला अदालतमा अंश चलन र श्यामसुन्दर साह तेलीले अण्डा जग्गा बन्डा दूषित लिखत बदर गरी पाऊँ भनी मुद्दा दायर गरेको बताए ।
राजनीतिक दबाबमा नितान्त निजी स्वास्र्थको लागि २०७७ मङ्सिर महिनामा आफूलाई प्रहरीले पक्राउ गरेको बताए । उनले भने, ‘करिब ५-६ महिना अर्थात् २०७७ मङ्सिर महिना देखी नै सबै परिवारलाई तनावमा बाँच्न बाध्य बनाएको छ ।’
उक्त जग्गा विवादसम्बन्धी मुद्दा जिल्ला अदालत, रौतहटले हेरिरहेको पनि उनले सुनाए । उनले भने,‘दुई वर्षदेखि मुद्दा चलिरहेको छ । फैसला भएको छैन । सिडिओले नै उल्टै आफूहरूमाथि झुटा मुद्दामा फसाएर भित्र हाल्छु भन्नुभयो ।’ रौतहटका सिडिओ इन्द्रदेव यादव आफ्ना काका श्याम सुन्दरसँग मिलेको आरोप छ ।
उनले परिवार बुवा, आमा, दुई दाजुभाइ, श्रीमती रहेको सुनाए । र, अहिले आमा दिदीको घर रौतहटमै बसेको र आफू र बुवा काठमाडौँमा दाजुसँग डेरामा बस्दै आएको सुनाए । र, उनले आफ्नी श्रीमती भने माइतीमा रहेको जनाए । उनले सरकारसमक्ष आफ्नो परिवारका सदस्यहरूको शान्ति, सुरक्षा र जीउ ज्यानको सुरक्षा पाउँ भन्दै गुहार गरेका छन् ।