arrow

देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गर्न तथा स्वास्थ्यकर्मीलाई बिदा नदिन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
health-ministry.jpeg

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले आकस्मिक उपचार बाहेकका बहिरङ्ग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न देशभरका अस्पतालहरूलाई निर्देशन दिएको छ । कोरोना सङ्क्रमितहरूलाई आवश्यक पर्ने शय्या उपलब्ध गराउनु पर्ने भन्दै यस्तो निर्देशन भएको हो।
 
मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले मङ्गलवार अस्पतालहरूलाई पत्र पठाउँदै कोभिड १९ को सङ्क्रमण तीव्र गतिमा बढ्दै गएका कारण स्वास्थ्य उपचारमा खटिनु पर्ने भएकाले यस्तो निर्देशन गरिएको जनाएको छ ।

जसअनुसार आकस्मिक उपचार बाहेकका बहिरङ्ग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न, स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन तथा बिदामा बसेको भए बोलाउन निर्देशनमा भनिएको छ ।

यसै गरी कार्यरत जनशक्तिलाई आलोपालो प्रणाली निर्धारण गरी सेवा दिन, दरबन्दी कम भएर थप गर्नु पर्ने भएमा ६ महिनाका लागि करारमा लिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले अस्पतालहरूलाई आकस्मिक उपचार बाहेकका बहिरङ्ग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न भनिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयमा सो विषयमा निर्णय लिन भन्दै सचिव स्तरीय बैठक बसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ