arrow

भारतमा कोरोनाको सुनामीः एकैदिन ३ लाख ६३ हजार संक्रमित, ३ हजार ३ सयको मृत्यु

मृतक दुई लाख नाघे, सक्रिय संक्रमित २९ लाख ७२ हजार बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
corona-india-puducherry.jpg
तस्वीर– भारतको पुडुचेरी जिल्लाकी कलेक्टर पूर्भा गार्ग रात्रिकालीन कर्फ्यूबारे घोषणा गर्दै ।


काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक दैनिक बढेर रेकर्ड बनिरहेको छ । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित र मृतक भारतमा थपिएका छन् । 

मंगलबार ३ लाख ६२ हजार ७५७ जना संक्रमित थपिएका छन् । यो विश्वकै सबैभन्दा बढी हो । यसअघि आइतबार ३ लाख ५४ हजार ५३३ जना संक्रमित थपिएका थिए । सोमबार भने आइतबारको तुलनामा संक्रमितमा कमी आएको थियो । सोमबार ३ लाख १९ हजार ३१५ जना संक्रमित थपिएका थिए । 

मंगलबार भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार २८५ जनाको ज्यान गएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर २९ लाख ७२ हजार १०६ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ लाख १ हजार १६५ पुगेको छ । 

मंगलबार २ लाख ६२ हजार ३९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ४८ लाख ७ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । तर यीमध्ये पनि कतिपयलाई पुनः कोरोना भएर ज्यानैसमेत गएको छ । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । मंगलबार ६६ हजार ३५८ जना संक्रमित थपिएका छन् । हाल महाराष्ट्रमा मात्रै ६ लाख ७२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार ८९५ जनाको ज्यान गएको छ । अहिलेसम्म ६६ हजार १७९ जनाको ज्यान गइसकेको छ । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ९८ हजार २६४ पुगेका छन् । मंगलबार २४ हजार १४९ संक्रमित थपिए । दिल्लीमा मंगलबार ३८१ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने १५ हजार ९ पुगेका छन् । 

उत्तर प्रदेशमा ३ लाख ६ हजार ४५८ जना सक्रिय संक्रमित छन् । मंगलबार ३२ हजार ९२१ संक्रमित थपिए । त्यस्तै मृतक २६४ थपिए ।

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ९४ हजार २७५ जना पुगेका छन् । मंगलबार १२ हजार ६०४ संक्रमित थपिए । मंगलबार ८५ जनाको ज्यान गएको छ । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ । अक्सिजन लुकाउनेलाई फाँसी दिन भारतीय अदालतले निर्देशन दिइसकेको छ । 

मृतकको दाहसंस्कार गर्ने स्थलको अभाव भएर विभिन्न पार्कहरुलाई नै मसानघाट बनाइएको छ । 

भारतमा अहिलेसम्म १४ करोड ५२ लाख ७१ हजार १८६ जनालाई कोरोनाको खोपसमेत लगाइसकिएको छ ।



लोकप्रिय समाचार
नयाँ