- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। कार्यकारिणी समितिको बैठक बोलाउने कि नबोलाउने भन्ने विषयमै जनता समाजवादी पार्टीमा विवाद उत्पन्न भएको छ। सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अहिलेको राजनीतिक विषयमा छलफल गर्न र एउटा निष्कर्षमा पुग्न आज भोलि नै कार्यकारिणी समितिको बैठक बोलाउनु पर्ने पक्षमा छन्। मङ्गलवार दिउसो बसेको केही शीर्ष नेताहरूको बैठकमा भट्टराई र यादवले यस्तो धारणा राखेका थिए।
तर पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले कोरोनाको महामारी बढेको बेला कार्यकारिणी समितिको बैठक बोलाउन आवश्यक नभएको अडान राखे । ठाकुर र महतोको अडानको कारण कार्यकारिणी समितिको बैठकको मिति तय नगरिएको स्रोतको भनाइ छ । ठाकुर निकट नेता डा.सुरेन्द्र झाले करोना सङ्क्रमणको महामारी बढ्दै गएको बैठक बोलाउन उपयुक्त नहुने बताए ।
कार्यकारिणी समितिको बैठक बोलाएमा लकडाउनको बेला कार्यकारिणी समितिका सदस्यहरू काठमाडौँमा आउनै गाह्रो हुन्छ,आए पनि फर्कन गाह्रो हुन्छ भन्दै बैठक बोलाउन नहुने धारणा ठाकुरले राखेका थिए । जसपाका शीर्ष नेताहरूमा भट्टराई, यादव, ठाकुर, महतो र अशोक राई छन् । राजेन्द्र श्रेष्ठलाई आमन्त्रित सदस्यमा राखिएको छ । ६ शीर्ष नेताहरूमा ४ नेताहरू पूर्व समाजवादीका हुन भने ठाकुर र महतो मात्रै पूर्व राजपाका हुन् ।
बाबुराम भट्टराई र उपेन्द्र यादव केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्न अविश्वासको प्रस्ताव ल्याउनु पर्ने लाइनमा छन् । यसकोलागि उनीहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट र छलफल गर्ने गरेका छन् । यता महन्थ र महतो सरकार विरोधी गठबन्धनमा सहभागी नहुने सहमति ओलीसँग गरेका छन् । ओली सरकारले पार्टीका माग र मुद्दा सम्बोधन गर्न प्रक्रिया अघि बढाइरहेको बेला सरकारको विरोधमा उभिन नहुने धारणा महतो पक्षधर नेताहरूको छ ।
५१ सदस्यीय कार्यकारिणी समितिमा सरकार विरोधी लाइन बहुमत रहेको भट्टराई–यादव पक्षधर नेताहरूको बुझाइ छ । पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव र यादव निकट अन्य दुई जना सदस्य रामनरेश राय यादव र रमेश यादवले कित्ता परिवर्तन गरी भट्टराई–यादव कित्तामा पुगिसकेका छन् । त्यसैले भट्टराई–यादव कित्ता बलियो देखिएको यादव पक्षधर नेताहरूको बुझाई छ। तर यसमा पूर्व राजपाका नेताहरू सहमत छैनन् । पूर्व समाजवादीका कार्यकारिणी समितिका केही सदस्यहरू कित्ता परिवर्तन गरी भित्रभित्रै ठाकुर–महतो पक्षमा आइसकेको पूर्व राजपाका एक नेताले बताए । अशोक राई, रेणु यादव र इस्तिायक राईले कित्ता परिवर्तन गरेको उनको दाबी छ।
लामो समयदेखि जसपाका कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । गत पुसको पहिलो हप्ता कार्यकारिणी समितिको बैठक बसेको थियो । त्यसपछि बैठक बस्न सकेको छैन । गतै चैत ६गते कार्यकारिणी समितिको बैठक बेलाइए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।