arrow

आन्तरिक उडान रोक्ने छलफलमा सीसीएमसी

यातायात व्यवसायी भन्छन् : निर्णयमा पुनर्विचार गर्नै पर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
ccmc.jpg
फाइल तस्विर।

काठमाडौं । सरकारले सार्वजनिक तथा निजी सवारी साधनलाई मात्रै सञ्चालनमा रोक लगाएर आन्तरिक तथा बाह्य हवाई उडान जारी राखेपछि आलोचना सुरु भएको छ । सरकारलाई निषेधाज्ञाको आवश्यकता बोध गराउने सीसीएमसी (कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र)लेसमेत निषेधाज्ञा जारी गर्दा सवारी साधनसहित हवाई उडानमा पनि रोक लगाउनु पर्ने भन्दै सिफारिस गरेको थियो । 

तर, गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भने निजी तथा सार्वजनिक सवारीलाई मात्रै सञ्चालनमा रोक लगाउने गरी सीसीएमसीको सिफारिसलाई परिमार्जनसहित पारित गरेको थियो । 

जसकारण बिहीबारबाट सुरु निषेधाज्ञामा सडक सुनसान भए पनि मुलुकको अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलबाट देशका विभिन्न स्थानमा जाने हवाई यात्रुहरूको भिडभाड बढेको छ ।  

भीड बढेको र स्वास्थ्य मापदण्डको पालना नभएको गुनासोपछि सीसीएमसीका अधिकारीसहितका टोलीले बिहीबार अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको यात्रु भिडभाड हुने क्षेत्रको अनुगमन गरेका हुन् । 

सीसीएमसीका सचिवालयका संयोजक डा. खगराज बरालले  विमानस्थलमा लापरबाही बढेको पाइएपछि सीसीएमसीले आज चार बजेका लागि विमानस्थलका म्यानेजर, पर्यटन मन्त्रालयका उडान हेर्ने सहसचिवसहितलाई छलफलका लागि बोलाइएको जानकारी दिए । 

‘स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने विमानस्थल बन्द गर्नु पर्छ, लापरबाही बढेको गुनासो आइरहेको छ, सीसीएमसीको सरकारलाई पहिले नै यही सुझाव थियो,’ नेपाल सरकारका सचिव तथा सीसीएमसीका सचिवालय संयोजक बरालले  हाम्राकुरासँग भने । सीसीएमसीको अनुगमन टोलीले निषेधाज्ञा लागु हुने पूर्व सन्ध्यामा बुधवारसमेत विमानस्थलमा अनुगमन गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी तथा सार्वजनिक सवारीलाई मात्रै सञ्चालनमा रोक लगाउने सरकारी निर्णय जायज नभएको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरिएको बताए । 

‘निजी तथा सार्वजनिक सवारीलाई मात्रै सञ्चालनमा रोक लगाउने सरकारी निर्णय जायज छैन, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णयमा पुनर्विचार गर्नै पर्छ, हामीले सरकार र सीसीएमसीलाई निर्णय पुनर्विचारका लागि आग्रह गरेका छौं,’ महासचिव सिटौलाले भने । 

सरकारले गत सोमबारको मन्त्रीपरिषद् बैठकबाट काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गर्ने सीसीएमसीको सिफारिसलाई स्वीकृत गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको थियो । 

विमानस्थलबाट काठमाडौं आएका यात्रुहरूले टिकट देखाएर विमानस्थलमा रहने प्रिपेड ट्याक्सी लिएर बसोबास स्थलसम्म जाने सुविधा प्रयोग गरेकोसमेत पाइएको छ । सरकारले विदेशबाट आउनेहरूका लागि अनिवार्य होटेल क्वारेनटिनमा बस्नुपर्ने नियम बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ