arrow

नेपाल समूहलाई बाहिर राखेरै ओली समूहले बढायो एमालेको अधिवेशन केन्द्रित गतिविधि

७७ जिल्ला र विभागीय कमिटीको अधिवेशन भदौ ३० गते

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
oli-nepal-1619092070.jpg
फाइल तस्विर।

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेकपा एमालेको केपी ओली पक्ष माधवकुमार नेपाल समूहलाई बाहिर राखेर सबै तहको अधिवेशनमा केन्द्रित हुन थालेको छ । दशौं महाधिवेशनलाई केन्द्रित गरेर वैशाख ६, १० र १२ गते बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकको निर्णयानुसार भन्दै एमालेले सबै तहको अधिवेशन मिति नै तय गरेर सबै जिल्लामा केन्द्रको सर्कुलर पठाउँदै सबै तहको अधिवेशनमा केन्द्रित भएको हो । 

केन्द्रीय कमिटी बैठकले महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई परिमार्जनसहित पारित गर्दै अन्तर पार्टी निर्देशन जारी गरेको हो । उक्त निर्देशन अनुसार एमालेले आगामी असार मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण पूरा गर्ने जनाएको छ । 

आन्तरिक सर्कुलर अनुसार एमालेले सदस्यता नवीकरण पूरा गरेपछि सबैभन्दा पहिले स्थानीय र प्रदेश कमिटीका अधिवेशन सक्ने भएको छ । महाधिवेशनतर्फ केन्द्रित गराउने क्रममा एमालेले आगामी साउन २५ देखि २७ गतेसम्म विधान संशोधन केन्द्रित छलफल गर्ने भएको छ । त्यसका लागि एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उक्त मितिमा राख्ने भएको छ । एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक सकेपछि सबैभन्दा पहिले भदौ ५ गते देशभरका वडा कमिटीको अधिवेशन गर्नेछ । त्यसपछि भदौ १५ मा पालिका कमिटीहरूको अधिवेशन हुनेछ। 

एमालेले ७७ जिल्ला र विभागीय कमिटीको अधिवेशन भदौ ३० गते गर्ने योजना ल्याएको छ । एमालेले भदौ सकिएपछि असोज २३ गते प्रदेश कमिटीको अधिवेशन गर्ने योजना ल्याएको छ । सबै तहका अधिवेशन पूरा गरेपछि एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने योजना ल्याएको छ । 

एमालेले यसअघि नै आगामी मंसिरमा दशौँ महाधिवेशन गर्ने मिति तोकिसकेको छ । एमालेले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । गत फागुन २८ गते माधव कुमार नेपाल पक्षलाई नबोलाई केन्द्रीय कमिटीको बैठक राखेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि नेपाल समूहले सो निर्णय नसच्याएसम्म पार्टीको केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गर्दै देशभर समानान्तर कमिटी बनाउँदै लगेको छ । नेपाल पक्षले समानान्तर कमिटी बनाएपछि ओलीले नेपालसहित चार जना नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेको छ । पछिल्ला पटक ओली नेपालबीच छलफल भए पनि छलफल उपलब्धिमूलक हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ