- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। कोरोना सङ्क्रमणको दर बढ्दो क्रममै रहेपछि कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसँग जोडिएका ३५ सीमा नाका मध्ये २२ नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।
सीसीएमसीको शुक्रवार बसेको बैठकले भारतसँग जोडिएका सीमा नाकाबाट आवतजावत बन्द नभएको र सङ्क्रमितको सङ्ख्यासमेत बढ्दै गएको पाइएपछि २२ सीमा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।
बैठकले १३ नाका खुला गरी २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए।
जसअनुसार पशुपतिनगर, काँकडभिट्टा, जोगवनी, भिठामोड, गौर, वीरगन्ज, कृष्णनगर, बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट नाका मात्र सञ्चालन गरी अन्य नाका बन्द गर्न भनिएको हो। यी नाका भारत हुँदै नेपाल प्रवेश गर्ने मुख्य नाका हुन्।
यसै गरी बैठकले बैङ्क तथा वित्तीय संस्थाहरूलाई एक चौथाइ कर्मचारीलाई मात्रै कार्यालयमा राखेर काम कारबाही सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ।
यस्तै निर्माण कार्यमा संलग्न कामदारहरूलाई निर्माण स्थलमै राखेर बाहिर आउजाउ गर्न नदिने गरी निर्माण कार्य सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको छ।
तर, आन्तरिक तथा बाह्य उडान रोक्ने बारेमा भने सीसीएमसीले कुनै निर्णय गर्न सकेन। सीसीएमसी सचिवालयले बुधवार तथा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अनुगमनका क्रममा स्वास्थ्य मापदण्डको पालना नभएको भेटिएपछि आन्तरिक उडान बन्द गर्न सकिने बताएको थियो।