arrow

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, केपी ओलीको सहयोगी बन्न काठमाडौं आउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
shankar-pokharel-resign.jpg

काठमाडौं । लुम्बिनी प्रदेश  मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार बिहान राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिएका उनको राजीनामा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले स्वीकृत गरेका हुन् ।  

प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिति फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको उनी निकट नेताले बताएको छ । 

यसअघि नै राजीनामा दिएर काठमाडौं बस्ने सोच बनाएका पोखरेलले आइतबार बिहान राजिनामा दिएका हुन् । केही दिनअघि लुम्बिनी प्रदेशका मुख्यसचिव भरतममि सुवेदीले म सरुवा जान्छु भन्दै गर्दा मुख्यमन्त्री पोखरेलले अब केही दिन हो त्यसपछि सँगै जाउँला भनेर रोकेका थिए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले संसदीय दलको कार्यालयमा एमालेको बैठक बसिररहेको छ । 

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आइतबारबाट छलफल शुरु हुँदैछ । 

संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिएका पोखरेल काठमाडौंमा ओलीकै सहयोगीका रुपमा बस्नेगरी आउन लागेको पनि स्रोतको दाबी छ । 

दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए ।  २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो । 

संघीय सरकारमा ओलीलाई अप्ठ्यरो परिरहेको र एमालेभित्र तीब्र ध्रुविकरण भैरहेको बेला पोखरेल मुख्यमन्त्रीबाट राजीनामा दिएर काठमाडौं आउन लागेका हुन् । 

उनी यसअघि पनि काठमाडौं बस्न चाहेका थिए । प्रदेश राजधानी दाङ बनाउनु पर्ने भएकै कारण उनले राजीनामा नदिएको उनी निकट स्रोतको दाबी छ । भावी नेतृत्वमा समेत पोखरेलले इच्छा व्यक्त गरिरहेका बेला पार्टीलाई एकता बद्ध बनाएर लैजाने भन्दै उनी काठमाडौं आउन लागेको स्रोतको दाबी छ । यद्यपि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएपनि पार्टी विवादको बेला काठमाडौमा ढुक्कै बस्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ