arrow

सरकार तँलाई लाल सलाम छ ! 

logo
वशिष्ठ अधिकारी,
प्रकाशित २०७८ वैशाख २० सोमबार
basista-adhikari.JPG

सरकार !
मेरो सरकार !
दुई तिहाइको सरकार !
ऐतिहासिक सरकार !
तँलाई लाल सलाम छ ! 

सरकार !
सत्ता स्वादमा चुर्लुम्म डुबेको तैँले,
कोभिड महामारीमा 
सांसद किन्न सकिस् !
मन्त्री किन्न सकिस् !

तर,
अक्सिजनको सिलिन्डर किन्न सकिनस् !
आइसोलेसनको बेड किन्न सकिनस् !
तँलाई लाल सलाम छ ! 

सरकार !
तैँले !
तैँले !
मेरो नाङ्ग्ले पसल थुनिस् !
तैँले मेरो नाम्लो चुँडालिस् !
तर संसद्को हाट बजार थापेर 
कोलाहलका बीच
सांसद किन्न छोडिनस् !
मन्त्री किन्न छोडिनस् !
तँलाई लाल सलाम छ ! 

सरकार !
मैले !
मैले !
मेरो विवाहमा जन्ती लान पाइन
तैँले धरहरामा पल्टन लगिस् !
मैले पुजामा आफन्तको आशिर्वाद थाप्न पाइन 
तैँले बालुवाटारमा भतेर लगाइस् !
तँलाई लाल सलाम छ ! 

सरकार !
तँ मास्क बाँड्न सक्दैनस्
पद बाँड्न सक्छस् !
तँ रासन बाँड्न सक्दैनस्
भाषण बाँड्न सक्छस् !
तँ भ्याक्सिन किन्न सक्दैनस्
जेट बडी किन्न सक्छस् !
तँ वालिकाको चित्कार सुन्न सक्दैनस्
शेरधनको गर्जन सुन्न सक्छस् !
सरकार !
तँलाई लाल सलाम छ ! 

सरकार !
तँ निर्मला चिन्दैनस्
रेशम चिन्छस् !
तँ न्याय चिन्दैनस्
न्यायाधीश किन्छस् !
तँ ! सत्ता टिकाउन,
जेलको अपराधीलाई मुक्त गर्छस् !
मन्त्रीको ताज सुम्पेर,
कुख्यातलाई प्रख्यात बनाउँछस् !
तेरो शासनमा अस्पताल थपिँदैन 
मन्त्रालय थपिन्छ !
बिरामीलाई औषधि खुवाइँदैन
लोकतन्त्रको धज्जी उडाउँदै 
मन्त्री, मुख्यमन्त्रीको शपथ खुवाइन्छ ! 
त्यसैले,
सरकार ! 
तँलाई लाल सलाम छ !

सरकार !
तँलाई लाल सलाम छ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ