- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुलाई काठमाडौं बोलाएका छन् ।
उनले काठमाडौ भएका सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन पनि दिएका छन । ठाकुरले प्रधानमन्त्री ओली विरोधी गठवन्धनमा सहभागी नहुने सहमति ओलीसँग गरेका छन् ।
यसैगरी उनले आफू निकट कार्यकारिणी समितिका सदस्यहरुलाई पनि काठमाडौं बोलाएका छन् । मंगलबार ठाकुरले आफू निकट सासद तथा कार्यकारिणी समितिमा सदस्यहरुसँग छलफल गर्ने सम्भावना रहेको पार्टी स्रोतको भनाइ छ ।
जसपाका कार्यकारिणी समितिका सदस्य केशब झाले ठाकुरले आफू निकट सांसद तथा कार्यकारिणी समितिका सदस्यहरुलाई काठमाडौं बोलाएको बताए । प्रतिनिधि सभामा जसपाका ३४ जना सांसद छन । ती मध्ये दुई जना सांसद निलम्बनमा परेका छन । बाँकी ३२ सांसदमा १६पूर्व समाजवादीका हुन भने १६ पूर्व राजपाका हुन ।
पूर्व राजपाका सांसद महेन्द्र यादवले कित्ता परिवर्तन गरी बाबुराम भट्टराई-उपेन्द्र यादव कित्तामा पुगिसकेका छन । भट्टराई-यादव पक्षले पूर्व राजपाका अर्का एक सांसदलाई पनि आफूतिर तानेको दावी गरेको छ । अहिले दुबै पक्षले अर्का पक्षका सांसदहरुलाई आफूतिर तान्ने प्रयासमा लागेको छ ।
भट्टराई-यादव कुनैपनि अवस्थामा ओली सरकारलाई ढाल्नु पर्ने लाइनमा छ भने ठाकुर-राजेन्द्र महतो पक्ष ओली सरकारको बचाउमा लागेको छ । दुई लाइनको विवादमा पार्टी फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरे पछि पार्टी भित्रको विवाद झन बल्झिएको छ ।