काठमाडौं । सरकारको विशेष दूतका रुपमा छिमेकी चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थन्त्री कृष्णबहादुर महराले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान ११ बजे महराले चिनियाँ परराष्ट्रमन्त्रालयमा परराष्ट्रमन्त्री यीलाई भेटेका हुन् । दुबै मन्त्रीबीच करिब १ घण्टा कुराकानी भएको बताइएको छ ।
चीनको बेजिङस्थित नेपाली दूतावासका चार्ज डि अफेयर्स हरिश्चन्द्र घिमिरेका अनुसार अर्थमन्त्री महराले चिनियाँ पक्षलाई नेपालमा भएको सरकार परिवर्तको औचित्य सुनाउँदै पुरानो सरकारलाई जस्तै विश्वास गर्न र सहयोग गर्न आग्रह गरेका थिए ।
भेटका क्रममा मन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो परराष्ट्रमन्त्री यीलाई हस्तान्तरण गरे ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ समकक्षी ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो समेत परराष्ट्रमन्त्री यीमार्फत हस्तान्तरण गरेका छन् ।
भेटका क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले नेपालको संविधान कार्यान्वयन हुने र स्थिरता हुने आशा गरे । उनले चीन सधैं नेपालमा स्थिरता होस् भन्ने चाहना राख्ने समेत सुनाए ।
भेटपछिको दिवा भोजमा मन्त्री महरासँगै परराष्ट्र मन्त्रालयका सहसचिव झवेन्द्र अर्याल र बेइजिङस्थित नेपाली दूतावासका आर्ज डी अफेयर्स घिमिरे, इकोनोमिक मिनिष्टर विनोद आचार्य लगायत सहभागि भए ।
महराले अपरान्ह चीन नेपाल सम्बन्धमा कार्यरत चिनियाँ बुद्धिजीवीहरुसँग मन्त्रीे छलफल गरेका छन् । साँझ महरा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुने छन् ।
भ्रमणका क्रममा महराले नेपालप्रति चासो राख्ने चिनियाँ उच्च अधिकारीहरुसंग समेत घेटघाट गर्ने कार्यक्रम छ ।