arrow

वाइवाइको ट्रेडमार्क चोर्ने करेन्टलाई अदालती झड्का, सबै उत्पादन बजारबाट फिर्ता गर्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
waiwai-current-2080.jpg

काठमाडौँ । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ । 

उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातिप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो । 

उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।  

यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्न माग गर्दै अदालत गएको थियो । 

चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रिय जगतमासमेत आर्जन गरेको ख्यातिलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो । 

यशोदा फुड्सले वाइवाइको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्नेसमेत कोसिस गरेको थियो । 

अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाईसमेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ । 

अदालतको यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । 

यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् रुपमा बिक्री वितरण गरिएमा अदालतको मानहानि गरेको ठहरिने छ । 

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाइमा रहँदै आएको चौधरी ग्रुपले दाबी गरेको छ ।

यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो । 

यसबाट उपभोक्ताको अधिकारमाथिसमेत प्रत्यक्ष प्रहार गरिएको चौधरी ग्रुपको ठहर छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ