काठमाडौँ। नेकपा (एमाले)ले संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न र राष्ट्रिय एकता एवम् सामाजिक सद्भावलाई सुदृढ गर्न मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले फागुन २१ गतेदेखि चैत ५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी गनाए । उनका अनुसार मेचीको काँकडभिट्टाबाट सुरु भई महाकालीको महेन्द्रनगर हुँदै अन्त्यमा सुर्खेत पुगी अभियानको समापन गरिनेछ ।
“अभियानमा हजार जनासहितको गाडीमा निरन्तर सहभागी हुनेछन्”–उनले भने , “अभियानकै क्रममा राजमार्गका ३० सहरमा सभा आयोजना गरिनेछन् ।” तराई–मधेसका सबै जिल्लाका मुख्यमुख्य सहर हुँदै अगाडि बढ्ने अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत पार्टीका शीर्ष नेताले अगुवाइ गर्ने उनले जानकारी गराए । अभियानमा पार्टीका सबै कमिटी, जनसङ्गठन, सदस्य र सर्वसाधारण गरी लाखौँको सहभागिता हुने उनले बताए ।
यसैगरी, बैठकले प्रतिपक्षी दलको असहमति र विरोधका बाबजुद संसद् नियमावली र संसदीय अभ्यासलाई समेत लत्याउँदै र आरोप लगाउँदै व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकलाई अगाडि नबढाउन आग्रह गर्दै राजनीतिक असहमति र द्वन्द्व चर्काउने कुनै पनि काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।
बैठकले सरकारसँग तत्काल निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनसम्बन्धी विधेयकलाई तत्काल संसद्मा प्रस्तुत गर्न माग पनि गरेको छ । संसद्मा प्रस्तुत भइसकेका विधेयकलाई पारित गराउन आवश्यक वातावरण मिलाउन, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने काम तत्काल अगाडि बढाउन पनि माग गरेको सचिव ज्ञवालीले जानकारी गराए ।
यसैगरी, बैठकले पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण तरिकाले बर्खास्त गरेको ठहर पनि गरेको छ । बैठकले कार्ययोजनालाई थप प्रभावकारी बनाउनका लागि एमालेको पोलिटब्युरो बैठक यही माघ २४ र २५ गते काठमाडौँमा आयोजना गर्ने पनि निर्णय गरेको छ । रासस