arrow

सात दलका शीर्ष नेतालाई राष्ट्रपतिले शीतल निवास बोलाएर के भनिन् ?

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
Bidhya.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका लागि निर्वाचनको प्रक्रिया तत्काल सुरु गर्न प्रमुख राजनीतिक दलका नेतालाई अनुरोध गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख सात दलका शीर्ष नेतासँग राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा विशेष ध्यान दिन र मुलुकको आवश्यकतालाई ख्याल गर्न अनुरोध गरिन् ।

राष्ट्रपति भण्डारीले परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने सबैको दायित्व हुन आएको स्पष्ट पार्दै महत्वपूर्ण र ऐतिहासिक राजनीतिक उपलब्धिको रक्षाका लागि पनि प्रमुख दलबीच एकता र सहकार्य जरुरी रहेकामा जोड दिनुभएको राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनताद्वारा निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक विधिबाटै संविधानवाद, बहुदलीयता, कानुनी शासन, मानवाधिकारलगायत लोकतन्त्रका मूलभूत मान्यतालाई आत्मसात् गर्दै नेपालको संविधान लागू हुनु लोकतन्त्रका प्रबल अनुयायी नेपाली जनताका निमित्त ऐतिहासिक उपलब्धि भएको स्पष्ट पार्दै राष्ट्रपति भण्डारीले कठोर मेहनतको परिणामस्वरुप हासिल भएको संविधानको सम्मान र संरक्षण गर्दै संवैधानिक विकासमा थप योगदान पुर्‍ायाउनु लोकतान्त्रिक राजनीतिक दलको सर्वोपरि दायित्व हुने बताइन् ।

विज्ञप्तिमा भनिएको छ, ‘न्याय, समानता र लोककल्याणको मर्मलाई आत्मसात् गरी समाजवादउन्मुख अर्थतन्त्र विकास तथा निर्माण गर्ने लक्ष्य लिएको वर्तमान संविधानको मार्गदर्शनलाई सही अनुसरण गरिएमा आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्पूर्ण क्षेत्रमा राज्यलाई परिचालन गराउन र बढ्दो जनआकाङ्क्षाअनुरुप मुलुकमा आर्थिक समृद्धिमार्फत सुखी, शान्त र समृद्ध नेपालको हाम्रो सपनाले मूर्तरुप लिनेछ ।’

आगामी २०७४ साल माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै राष्ट्रपतिले निर्वाचन प्रक्रिया पूरा गर्ने दायित्व आकस्मिक आइलागेको विषय नभई संविधान जारी हुँदाकै बखत विस्तृत छलफलपछि तय भएको संवैधानिक प्रावधान रहेको स्पष्ट पारे । निर्वाचनले मुलुकलाई अगाडि बढाउने भएकाले यसको कुनै विकल्प नरहेकामा जोड दिँदै राष्ट्रपतिले आवधिक निर्वाचन नागरिकको अधिकार भएकाले सो अधिकार कुण्ठित हुनुहुँदैन भन्नेमा दलका नेताको ध्यानाकर्षण गराइन् ।  

निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र धाँधलीरहित निर्वाचनको वातावरण बनाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दल र सम्बद्ध सबै पक्ष र निकायको ध्यानाकर्षण गराउँदै  निर्वाचनको उत्कट चाहना र प्रतीक्षामा बसेका जनताको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुन पनि राष्ट्रपति भण्डारीको अनुरोध छ ।

बाँकी समयको पूर्णरुपमा सदुपयोग गर्दै संविधानले निर्दिष्ट गरेको समयसीमाभित्र सबै तहका निर्वाचन सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ समृद्ध र सुदृढ पार्ने नेपाली जनताको आकाङ्क्षालाई साकार पार्न सबै राजनीतिक दल अग्रसर हुनुपर्नेमा राष्ट्रपतिको जोड छ ।

राष्ट्रपतिले भनिन्, ‘निर्वाचनले नै राजनीतिक दललाई आम जनसहभागिताका माध्यमबाट थप ऊर्जाशील बनाउने निश्चित छ । यसले देश विकासको प्रत्येक अङ्गमा नयाँ पुस्ताको सक्रिय सहभागिता पनि सुदृढ पार्नेछ । आज हामीले यो कर्तव्य निष्ठापूर्वक पालना गर्ने बेला आइसकेको छ । त्यसैले मुलुकलाई राजनीतिक अस्थिरता र संवैधानिक सङ्कटबाट पार लगाउन हामी सबैको दायित्व भएको तर्फ ध्यान आकर्षित गराउन चाहन्छु ।’ आर्थिक रुपान्तरणको अभियानमा क्रियाशील हुनसमेत दलहरुलाई राष्ट्रपति भण्डारीको जोड छ ।

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक(का अध्यक्ष विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागि थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ