रत्ननगर । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा एक लाख रुपैयाँ सहयोग गरेका छन् । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन पुगेका उनले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी र एक लाख सहयोग गरेका हुन् ।
महायज्ञ परिसरमा उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गरेको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिए ।
पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भने, “हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।” महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए ।
शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर तिमिल्सिनाले बताए ।
गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ । रासस