- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमार्फत हुने तस्करीमा उच्च सुरक्षा अधिकारी पक्राउ परेको करिब तीन महिनापछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका वरिष्ट पाइलट समातिएका छन् ।
एयरलाइन्सका करिब तीन दशक पुराना पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित विमानस्थलमा पक्राउ परेका हुन् ।
विमानस्थलमार्फत हुने तस्करीमा पाइलट संलग्न हुनु विश्वमै दुर्लभ घटना मानिन्छ ।
आइतबार राती साढे ११ बजे दुबईका लागि जहाज उडाउन विमानस्थलभित्र भित्रिने क्रममा भएको सुरक्षा जाँचमा ५५ वर्षिय अवालेको ‘ह्यान्डक्यारी’ मा उक्त परिमाणको डलर फेला परेको थियो ।
नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर २२९ को जहाज उडाउनु अघि राती ११ बजे अवाले नेतृत्वको आठ सदस्यीय ‘क्रियु’ सुरक्षा जाँचमा थियो ।
अवालेको लगेज पहिलो एक्स रे मेसिनमा जाँच गर्दा सुरक्षाकर्मीले शंकास्पद भन्दै त्यसपछिको जाँचलाई सतर्क बनाएका थिए ।
प्रहरीको अन्तिम जाँचमा भने अवालेको ह्यान्डक्यारी खानतलासी गरिएको प्रहरीले जनाएको छ ।
खानतलासी गर्दा लगेजभित्र ठुलो परिमाणको डलर पानी टेपले बेरिएको फेला परेको थियो । लगत्तै, सुरक्षाकर्मीले अवालेलाई नियन्त्रणमा लिएको थियो ।
त्रिभुवन बिमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी प्रेम चन्दले प्रहरीको अन्तिम खानतलासीका क्रममा अवालेको ह्यान्डक्यारीमा ठुलो परिमाणमा डलर फेला परेको बताए ।
‘शंका लागेपछि खानतलासी गर्नु हाम्रो जिम्मेवारी थियो । पाइलटकै ब्यागमा यस्तो हुँदा हामी छक्क पर्यौं’, एसएसपी चन्दले भने ।
विमानस्थलमा उडान भर्ने पाइलट तथा ‘क्रियु’को जाँचका लागि छुट्टै बाटोको ब्यवस्था हुने नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
‘तर, बाटो फरक भएपनि पाइलट र क्रियु सदस्यको लगेज, ह्यान्डब्याग तथा बडि जाँच कडाईसाथ गरिएको हुन्छ’, ठाकुरले भने ।
नेपाल बायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले पाइलट प्रकरणले आफु स्तब्ध भएको बताए । ‘उहाँजस्तो अनुभवी, इमान्दार पाइलट यस्तो घटनामा पक्राउ पर्दा म र मेरो संस्था स्तब्ध छौं’ कंशाकारले भने ।
पक्राउ लगत्तै अवालेलाई काठमाडौं प्रहरी परिसर बृत, गौशालामा बुझाईएको थियो ।
अवाले पक्राउ परेपछि प्राधिकरणले ‘रिजर्भ’ पाइलट महेशमान डंगोललाई काठमाडौं–दुबई फ्लाइट उडान गर्न लगाएको थियो ।
यसअघि गत पुसमा त्रिभुवन विमानस्थलबाट साढे ३३ केजी सुन पक्राउ पर्दा विमानस्थलका तत्कालिन एसएसपी श्याम खत्रीको पनि संलगनता देखिएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो ।
त्यसपछि चार जना थाई भिक्षुणी पनि ठुलो परिमाणको डलरसहित त्रिभुवन विमानस्थलबाटै समातिएका थिए ।
उनीहरु थाइल्यान्ड उड्न लागेको अवस्थामा समातिएका थिए ।
नेपाल राष्ट्र बैंकको विदेशी विनियम ऐन अनुसार विदेश जाँदा कुनैपनि ब्यक्तिले अधिकतम २५ सय डलर साथमा लिएर जान सक्छन् ।
नेपाल राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पन्डितले सर्वसाधारणको हकमा यो ब्यवस्था भएपनि पाइलटको हकमा सम्बन्धित संस्थाले ब्यवस्था गर्न सक्ने बताए ।
तर नेपाल बायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले पाइलटकै लागि भनेर त्यस्तो छुट्टै ब्यवस्था नभएको बताए ।
को हुन् अवाले ?
३३ वर्षअघि जुनियर को पाइलटका रुपमा निगममा सेवा सुरु गरेका अवोल पछिल्लो समय निगमको एयरबसका वरिष्ठ पाइलट थिए ।
अवालेले ट्वीनटर , बोइङ हुँदैं डेढ वर्षअघि मात्र एयर बस ‘न्यारो बडी’ उडान थालेका थिए ।
एक महिनाअघि मात्र निगमले उनलाई इमानदार र लगनशिल पाइलटका रुपमा सम्मानित गरेको थियो ।
उनले ट्वीनटर जहाजका लागि पाइलट प्रशिक्षण गराएका पाइलटहरु अहिले अन्तर्राष्ट्रिय एयर बस जहाज उडान भरिरहेका छन् ।
जसमा निगमका वरिष्ठ पाइलट विजय लामासमेत पर्छन् । क्याप्टेन लामाले अवाले आफुभन्दा तीन वर्ष सिनियर कर्मचारी भएको बताउँदैं उनी अत्यन्तै मिलनसार र पेशाप्रती इमानदार रहेको बताए ।
अवालेले आफ्नै खर्चमा को पाइलट तालिम लिएका थिए । उनी अबको डेढ महिनापछि हुने एयर बस उत्पादन कम्पनीमा एयर बस प्रशिक्षकको तालिम लिन छनौट समेत भएका थिए ।
सिनामंगलको सम्पन्न परिवारका अवालेका दुई छोरीमध्ये एक जना अमेरिकाको हाबर्ड विश्वविधालय र अर्की हङकङमा अध्ययन गरिरहेका छन् ।
हाल निगमका आठ जना एयरबस पाइलट छन् । एयर बसको हरेक उडानमा प्रमुख पाइलट, अर्को एक जना रिजर्भ पाइलट र फ्लाइट अफिसर हुन्छन् ।
हाल निगमसँग दुई वटा एयरबस छन् । निगमका एक वरिष्ठ पाइलटका अनुसार पाइलटको संख्याका कारण यसअघि नै समस्या आएको अवस्थामा यो घटनाले समस्या थपिएको बताए ।
पाँच दिन म्याद
राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन समय मागेर अनुसन्धान अगाडि बढाएको छ ।
विदेशी विनियम नियमित गर्ने ऐन अन्तर्गत अवालेमाथी अनुसन्धान अगाडि बढेको हो । यो ऐन अन्तर्गत बढीमा ३० दिनसम्म विभागले अनुसन्धान गर्न सक्ने छ । अवालेलाई थुनाका लागि नख्खु कारागारमा राखिएको छ ।
विदेशी विनियम नियमित गर्ने ऐनअन्तर्गत एक करोड नेपाली रुपैयाँ बराबरभन्दा माथीको मुद्धामा अधिकतम तीन वर्षसम्म कैद, विगो जफत र विगोको तेब्बर जरिवाना हुने ब्यवस्था छ ।
एक करोड नेपाली रुपैयाँभन्दा तलको मुद्धामा अधिकतम विगो जफत र विगोको तेब्बरसम्म जरिवाना ब्यवस्था छ ।
अवालेले ह्यान्ड क्यारिमा राखेको अमेरिकी डलरको नेपाली रुपैयाँ एक करोडभन्दा तल हुन आउँछ । (अन्नपूर्ण पोष्ट दैनिक)