arrow

तेह्रथुममा राजनीतिक दलले पनि मतदाता शिक्षा दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७४ जेठ २१ आइतबार
therathum-district1.png

तेह्रथुम। जिल्लामा राजनीतिक दलले पनि मतदाता शिक्षा सामग्री नै बनाएर गाउँ गाउँमा मतदाता शिक्षा दिन थालेका छन्। दलले पहिलो चरणको निर्वाचनमा जस्तो मत बदर नहोस् भनेर कार्यकर्ता र मतदातालाई मतदान गर्नेबारे सिकाउन थालेका हुन्।

मतदाताको घरदैलोसम्म पुग्दा आफ्नो पार्टीलाई मतदान गर्न सिकाउँदै दलले मतदाता शिक्षाका सामग्री लगेर मतदान कसरी गर्ने भन्ने सिकाइरहेका छन्। नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नयाँ शक्ति नेपाललगायत राजनीतिक दलहरू आफ्नो पार्टीमा यसरी मतदान गर्नुस् भनेर मतदाता शिक्षा सामग्रीसहित घरदैलो गरिरहेका हुन्।

दलहरूले आफ्नो पार्टीमा स्वस्तिक छाप लगाइएका मतपत्र नै बनाएका छन्। त्यस्ता मतपत्र बाँड्दै मतदातालाई मत बदर नहुने गरी सिकाइरहेको नेताहरूले बताएका छन्। पार्टीको घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको काँग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताए।

यसरी मतदातालाई भोट हाल्न पनि सजिलो हुने र आफ्नो पार्टीको चुनाव चिह्नका बारेमा जानकारी समेत दिन सकिने भएपछि घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए। नयाँ शक्ति नेपालका जिल्ला संयोजक विष्णुप्रसाद दाहालले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसँगै मतदाता शिक्षामा पनि जोड दिएको उल्लेख गरे।

नमुना स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको उनले बताए। गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारसमेत विभिन्न वडामा नमुना स्वस्तिक छाप र मतपत्रसहित मतदातालाई मतदान गर्न सिकाइरहेका छन्।

माओवादी केन्द्रका इन्चार्ज दुर्गाप्रसाद चापागार्इंले मतदाता शिक्षा कार्यक्रममा आफ्नो पार्टी पनि सक्रिय रूपमा लागेको बताए। जिल्लामा सङ्घीय लिम्बुवान मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायतका साना दलले पनि मतदातालाई मतदान गर्न सिकाउँदै घरदैलो गरिरहेका छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ