arrow

तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ को उम्मदवारी

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७४ असार ५ सोमबार
terhathum-candidate.jpg

तेह्रथुम। दुई नगरपालिका, चार गाउँपालिका र ४३ वटा वडा रहेको तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले आइतबार स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको थियो। 

विहान ८ बजेदेखि साँझ ४ बजेसम्म दर्ता गर्ने र साँझ ५ बजे नै उम्मेदवारी दिनेको नामावली प्रकाशन गर्ने भनिएको भएपनि राति १२ बजे मात्रै उम्मेदवारहरुको मनोनयन सकिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याङलुङ्ग नगरपालिकामा ५२ पदका लागि १ सय ८६ जनाले उम्मेदवारी दिएका छन्। 

लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १ सय ४९ जना, आठराई गाउँपालिकामा ३७ पदका लागि १ सय ३१ जना, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८ जना, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १ सय जना र छथर गाउँपालिकामा ३२ पदका लागि १ सय ३२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए। 

एक जना निर्वाचित हुने प्रमुख पदमा म्याङलुङ्ग नगरपालिकामा ९ जना, लालीगुराँस नगरपालिकामा ७ जना, मेन्छ्यायेम गाउँपालिकामा ४ जना, फेदाप गाउँपालिकामा ५ जना, आठराई गाउँपालिकामा ६ जना र छथर गाउँपालिकामा ११ जनाको उम्मेदवारी परेको छ। 

यस्तै एक जना नै निर्वाचित हुने उपप्रमुख पदमा म्याङलुङ्गमा ६ जना, मेन्छ्यायेम, फेदाप र लालीगुराँसमा ४–४ जना, आठराईमा ५ जना र छथरमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। 

४३ जना निर्वाचित हुने वडाध्यक्ष पदका लागि १ सय ६९ जना, महिला सदस्य पदका लागि १ सय ३४ जना, दलित महिला सदस्य पदका लागि १ सय १७ जना र ८६ जना निर्वाचित हुने खुला सदस्य पदका लागि २ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले जनाएको छ। 

१४ वटा दल दर्ता भएको तेह्रथुममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, मधेशी जनअधिकार फोरमले उम्मेदवारी दिएका छन्।

लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनको मनोनयन दलहरुले हर्षौल्लासका साथ बाजागाजासहितको ¥यालीले बजार परिक्रमा गरी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गराएका थिए । जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा दलहरुबीच शक्ति प्रदर्शनको होडबाजी नै चलेको देखियो। 

विशेषगरी नेपाली कांग्रेसले विशाल जनप्रदर्शन गरेको छ। सदरमुकाम म्याङलुङ्ग, लालीगुराँस, छथर, आठराई, फेदाप लगायत क्षेत्रमा कांग्रेसले जनप्रदर्शन गरेको हो। एमालेले पनि कार्यकर्ताहरुको ठुलै भीड लिएर मनोनयन दर्ता गराएको छ। 

निर्वाचन आयोगका अनुसार दाबी विरोध, उम्मेदवारी फिर्ता र चेकजाँच समेत गरेर असार ६ गते ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ