arrow

कृषि क्षेत्रमा राहतका लागि उच्चस्तरीय समिति गठन

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
ministry-of-agriculture.jpg.jpeg

काठमाडौँ। कृषि विकास मन्त्रालयले अविरल वर्षाका कारण बाढी र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल राहत दिन उच्चस्तरीय समिति गठन गरेको छ ।

कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मन्त्रालयबाट तत्कालै गर्न सकिने राहतका सम्बन्धमा मन्त्री रामकृष्ण यादवको अध्यक्षतामा बसेको सम्बन्धित निकायका प्रमुखको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

मन्त्री यादवको प्रत्यक्ष निर्देशन र निगरानी रहने उक्त समितिको संयोजकमा कृषि सचिव डा सुरोज पोखरेल संयोजक तथा नेपाल कृषि अनुशन्धान परिषद्का कार्यकारी निर्देशक, मन्त्रालयको योजना महाशाखाका प्रमुख, प्रशासन महाशाखाका प्रमुख, खाद्य सुरक्षा, कषि व्यवसाय प्रवद्र्धन तथा वातावरण महाशाखाका प्रमुख, नीति तथा अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख, कृषि विभागमा महानिर्देशक, खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सदस्य छन् ।

मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव समितिको सदस्य सचिव छन् ।  मन्त्री यादवले समितिलाई सहयोग गर्न प्रत्येक क्षेत्रका क्षेत्रीय कृषि निर्देशकको नेतृत्वमा टोली गठन गर्र्न र खाद्यान्न, माछा, तरकारी, फलफूललगायत भौतिक पूर्वाधार समेतमा भएको क्षतिको विवरण तीन दिनभित्र पेश गर्न निर्देशन दिए ।

समितिले आइतबारै अपरान्ह ३ बजेसम्म प्राररम्भिक प्रतिवेदन तयार गर्ने मन्त्रालयले जनाएको छ । साथै के कस्ता कार्यक्रम अविलम्ब सञ्चालन गर्न सकिन्छ भन्ने सम्बन्धमा प्रतिवेदन तयार गरी मन्त्रालयमा यथाशीघ्र पेश गर्न मन्त्री यादवले समितिलाई निर्देशन दिए।

बैठकमा मन्त्रालय मातहतका सम्पूर्ण निकायका प्रमुखले बाढीपहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिका सम्बन्धमा जानकारी गराउनुका साथै तत्काल राहतका लागि गर्न सकिने उपायका बारेमा सुझाव दिएका थिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ