arrow

तेह्रथुममा कांग्रेस-माओवादीले संघको प्रत्यक्षतर्फ भौतिक राज्यमन्त्री सीता गुरुङलाई बनायो सर्वसम्मत उम्मेदवार

संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार, एमाले आन्तरिक तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असोज ११ बुधबार
sita-gurung-congress.jpg

तेह्रथुम। दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन्। नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन्। नेकपा (एमाले)लगायत दलले समेत आन्तरिक तयारी थालेका छन्। कांग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका छन्। कांग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। 

संघको निर्वाचनमा समानुपातिकतर्फ काँग्रेसले पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको छ। यस्तै प्रादेशिक निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ।

यस्तै समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ। क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम जिल्लाबाट सिफारिस भएको छ।

माओवादी केन्द्रले भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ। प्रदेशतर्फ क्षेत्र नं १ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिस गरेको छ। यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ।

एमालेसहितका दलले पनि पार्टीभित्र आन्तरिक रुपमा उम्मेदवारको तयारी गरिरहेको बुझिएको छ। दशैँलगत्तै पार्टीले एउटा मापदण्ड बनाएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए। प्रदेशको निर्वाचनमा क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन्। क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन्।

यसअघि संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा काँग्रेसले जितेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ