- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १० दिनदेखि अनशनरत प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखी तेह्रौँ अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
‘उनलाई निरन्तर छाती दुख्ने समस्या देखिएको छ,’ केसीको उपचारमा संलग्न मेडिकल टिमकी संयोजक डा दिव्या सिंहले भनिन्, ‘यसबाट हामी चिन्तित बनेका छौँ । उनको स्वास्थ्यमा गम्भीरता नदेखाए कुनै पनि वेला जे पनि हुन सक्छ ।’
डा केसी १० दिनदेखि चिकित्सा शिक्षा विधेयक संसद्बाट पास गराउनुपर्ने माग राखेर अनशनमा छन् ।
संसद्को आयु शनिबार रातिदेखि सकिएको छ । संसद् नै नरहेको अवस्थामा आफ्नो आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेमा केसीले कुनै निर्णय गरेका छैनन् ।
उनका वार्ता टोली संयोजकसमेत रहेका डा। वाइपी सिंहले अब कसरी अगाडि जाने भन्नेमा केसीले औपचारिक धारणा बनाइनसकेको बताए । ‘शुक्रबार र शनिबार हामी कुनै निर्णयमा पुग्न सकेनौँ, अब नयाँ रणनीति बनाएर अगाडि जाने छौँ,’ उनले भने ।
शरीरको मासुसमेत फुट्न थाल्यो
पटकपटक गरी तेह्रौँ अनशन बसेका डा।केसीको शरीरका मासुहरू फुट्न थालेका छन् । लामो समय अनशनमा बिताएका कारण उनको शरीर कमजोर भई मासुहरू फुट्न थालेको डा तोसिमा कार्कीले बताइन् ।
उनको अवस्था गम्भीर बन्दै गएका कारण शरीरका अंगहरूले समेत आवश्यक मात्रामा काम गर्न छाडेको कार्कीको भनाइ छ ।
‘अहिले डा केसीलाई रिंगाटा लाग्ने, शरीरका मांसपेशी दुख्ने, बाउँडिने निरन्तर छाती दुख्ने समस्या बढेर गएको छ,’ उनले भनिन् ।
चिकित्सकका अनुसार केसीको शरीरमा रहेको सेतो रगतको मात्रा धेरै कम भएको छ । म्याग्निजियम, क्याल्सियम, सोडियम, पोटासियम र प्रोटिनको मात्रा पनि कम छ ।
कसरी अगाडि जाने धारणा बनाउँदै सरकारी वार्ता समिति
सरकारी वार्ता टोलीले डा केसीसँग भएका अहिलेसम्मका उपलब्धिलाई बुँदागत रूपमा उतारेर मात्रै छलफल गर्ने भएको छ । वार्ता टोलीका संयोजक नगेन्द्रप्रसाद उपाध्यायले अनशनरत डा केसीसँग सरकारले अहिलेसम्म गरेका सहमति र उपलब्धिका बुँदा तयार पारेर छलफललाई अगाडि बढाउने बताए ।
‘शनिबार डा केसी पक्षसँग कुनै पनि वार्ता भएन,’ उनले भने, ‘हामी कसरी अगाडि जाने भनेर बुँदाहरू तयार पार्दै छौँ । चाँडै दुई पक्षबीच सहमति हुनेछ ।’ (नयाँ पत्रिका दैनिक)