- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेलौरी । कञ्चनपुरको दक्षिणी भेगमा आदिवासीका रुपमा चिनिदै आएको थारु समुदायमा पुस मसान्त देखि सुरु भएको माघी पर्वको रौनक माघ २ गते पनि जारी रह्यो ।
थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ माघी पर्व मनाइरहेका छन् । कञ्चनपुर, कैलाली लगायत पश्चिम नेपालमा रहेका थारु समुदायले माघी पर्व मनाउने गर्दछन् ।
थारु समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा माघीलाई मनाउने गर्दछ।
आदिवासी र भुमीपुत्रका रुपमा चिनिदै आएका थारु समुदायले माघीका दिनमा वर्षभरी के गर्ने भनेर योजना समेत बनाउने गरेका छन् ।
थारु बुद्धिजिवीहरुका अनुसार घरपरिवार र समाजलाई कसरी अगाडि बढाउने भनेर गम्भीर रुपमा छलफल गर्ने र वर्षभरीको लागि योजना तय गर्ने गरिएकाले पनि यसलाई नयाँ आर्थिक वर्षको रुपमा लिइएको हो ।
पुस महिनाको अन्तिम दिनदेखि माघ दुई गतेसम्म थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । यो पर्वमा थारु समुहायका मानिसहरु मिठो मिष्ठान खाने, मान्यजनबाट आशिर्वाद लिने, मघौता नाच नाचेर रमाउने गर्छन।
यसैबीच माघीको अवसरमा ठाउँ–ठाउमा माघी विशेष कार्यक्रम आयोजना गरिएका छन् । मंगलवार बेलौरीको गोकुलपुरमा माघी विशेष कार्यक्रम गरिएको छ ।
थारु समुदायको भाषा, संस्कृति, कला, पहिचानको अधिकार र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ माघी विशेष कार्यक्रमको आयोजना गरिएको थियो । माघी विशेष कार्यक्रम अन्तर्गत मघौता नाच प्रतियोगिता गरिएको थियो ।
जम्मा ११ ओटा समुहको सहभागिता रहेको प्रतियोगितामा दिनापुर समुह प्रथम भएको छ । प्रथम भएको समुहलाई रु. ५ हजार सहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
त्यस्तै, भलमन्सा समुह द्वितीय भएको छ । द्वितीय भएको समुहलाई रु. ४ हजार सहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
भैसोरी समुह तृतीय भएको छ । तृतीय भएको समुहलाई रु. ३ हजार सहित प्रमाण पत्रले पुरस्कृत गरिएको र अरु सबैलाई सान्त्वना स्वरुप रु १ हजार पाँच सय र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।