वीरगन्ज। मधेसी दलले वीरगन्ज लगायतका सीमानाका एक महिना देखि ठप्प पारेपछि पर्साको ठोरी नाकाबाट दैनिक हजारौँ लिटर पेट्रोलियम तस्करी भइरहेको छ ।
भारतीय व्यपारीहरुले तस्करी गरेर ल्याएका डिजल र पेट्रोल लिन ठोरीमा चितवनको माडी, नारायणगढ, काठमाडौँ, पोखरा, गोरखा र तनहुँ लगायतका स्थानबाट व्यपारी र गाडी धनीहरु पुग्ने गरेका छन् ।
भारतबाट तस्करी गरेर ल्याइएको पेट्रोल र डिजेल चितवनको माडी, नारायणगढ, कास्की, गोर्खा, तनहँ र काठमाडौँसम्मका व्यपारी र गाडीधनीहरुले ठोरीबाट यात्रुवाहक बस र मोटरसाइकलमा राखेर विभिन्न स्थानमा ओसार्दै आएको आजको अन्नपूर्णपोस्टमा क्रान्ति शाहले लेखेकाछन्।
‘एक दिनमा कम्तीमा पनि ५० हजार लिटर डिजल र पेट्रोल यो नाका भएर ओसारिएको छ’, नाम नबताउने शर्तमा ठोरी भन्सार क्षेत्रका एक व्यपारीले भने, ‘तेल लिनकै लागि ठोरीमा दैनिक दुई सय भन्दा बढी गाडी र पाँच सय जति मोटरसाइकलआइरहेका छन् ।’
भारतीय व्यपारीहरुले भारतको जमुनिया, धनौजी र नरकटीयागन्जका पेट्रोल पम्पबाट खरिद गरेको डिजेल–पेट्रोल ठोरीमा पुर्याएर चर्को मुल्यमा बेच्ने गरेका छन् ।
ठोरीमा भारतीय व्यापारीहरुबाट नेपालीहरुले डिजेल प्रतिलिटर एक सय २० देखि ४० र पेट्रोल एक सय ६० देखि दुई सय रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् ।
भारतीय नाका हुँदै तस्करी गरेर ल्याइएका हजारौँ लिटर डिजेल र पेट्रोल दिनहुँ ठोरीबाट नेपाल भित्रिरहेपनि त्यहाँ तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी भने मौन छन् । ठोरीमा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प छ ।