भक्तपुर। प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग राष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार भण्डारी, पूर्वसभामुख सुवास नेम्वाङ र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलसहितको टोली आज कमलविनायकस्थित बिजुक्छे निवास पुगेर मतदान गर्न आग्रह गरेको हो ।
नेमकिपाले राष्ट्रपतिका उम्मेदवारमा नारायण महर्जनलाई उम्मेदवार बनाएपछि आजै प्रधानमन्त्रीसहितको एमाले नेताको टोली बिजुक्छे निवास पुगेको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रमै रहेको नेमकिपाले राष्ट्रपतिमा उम्मेदवार दिएपछि एमालेको टोली बिजुक्छे निवास पुगेको हो । एमाले र नेमकिपाको टोलीबीच भएको आधा घन्टाको भेटपछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बुधबार हुने राष्ट्रपतिको निर्वाचनमा भण्डारीलाई समर्थन गर्न आग्रह गरिएको बताउनुभयो ।
भण्डारीप्रति नेमकिपा सकारात्मक
बिजुक्छे निवासबाट बाहिरिँदै राष्ट्रपतिको उम्मेदवारसमेत रहनुभएका भण्डारीले नेमकिपासँगको छलफलमा आफूलाई समर्थन गर्न सो पार्टी सकारात्मक रहेको जनाएको बताउनुभयो ।
एमाले नेता नेपालले राष्ट्रपतिको उम्मेदवार भण्डारीलाई नै नेमकिपाले समर्थन गर्ने र त्यसका लागि नेमकिपाको आजको बैठकले निर्णय गर्ने अध्यक्ष बिजुक्छेले जानकारी गराएको बताउनुभयो ।
छलफलपछि नेता बिजुक्छेले उच्चस्तरीय राजनीतिक संयन्त्रको सिद्धान्तअनुसार भण्डारीलाई साझा उम्मेदवार बनेको खण्डमा सघाउन तयार भएको बताउनुभएको नेता नेपालको भनाइ छ ।
राष्ट्रपतिको उम्मेदवार बनाउनुअघि संयन्त्रमा छलफल नहुँदा नेमकिपाले पनि उम्मेदवार उठाएको बताउँदै उहाँले एमालेको राष्ट्रपति मात्रै नभई सबैको साझा राष्ट्रपति भएर पदीय जिम्मेवारी बहन गर्नुपर्ने सर्त राखेको नेता नेपालले बताउनुभयो । रासस