arrow

हाम्राकुरा समाचार प्रभावः योगेशले भ्रमण वर्षको अतिथिबाट अन्ततः हटाए कर्ण शाक्यको नाम

तयारी थियो कर्ण शाक्यका काका भतिजालाई भिजिट नेपालको टर्च बोक्ने जिम्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७६ पुष १७ बिहिबार
yogesh-bhattrai-karna-shakya.jpg

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को उद्घाटनका क्रममा अतिथिका रुपमा राखेका विवादास्पद होटल ब्यवसायी कर्ण शाक्य र योगेन्द्र शाक्यको नाम अन्तिममा काट्न बाध्य भएका छन् । 

बुधबार दशरथ रंगशालामा भएको उद्घाटन कार्यक्रममा शाक्यका काका भतिजालाई अतिथिका रुपमा राखिएको थियो । तर प्रतिष्ठित होटलका संचालकलाई नराखी पोखराको फेवातालदेखि नगरकोटको सरकारी जग्गा अतिक्रमण गर्ने शाक्यलाई राखिएकोबारेमा हाम्राकुरा सहितका मिडियाले आवाज उठाएपछि मन्त्री भट्टराईले उदघाटनकै दिन बुधबार उनीहरुको नाम कार्यतालिकबाट हटाएका थिए । भ्रमण बर्षको उदघाटन सत्रको कार्यतालिका सार्वजनिक गर्दा शाक्यका काका भतिजाको नाम थियो । तर कार्यतालिका संशोधन गरी उनीहरु दुवैको नाम काटिएको थियो । 

भ्रमण बर्षको उदघाटनमा नेपालमा पर्यटन उद्योगका रुपमा योगदान गरेका राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातीप्राप्त होटलहरुको तर्फबाट कसैलाई पनि राखिएको थिएन । तर विवादित होटल ब्यवसायी शाक्य काका भतिजलाई राखिएपछि कार्यक्रमकै महत्व घट्न पुग्ने चर्चा भएको थियो । होटल संघ नेपाल (हान)का अध्यक्ष सिर्जना राणालाई नै राखेको भए सबै होटलहरुको प्रतिनिधित्व हुनसक्थ्यो । तर शाक्यका काका भतिजालाई मात्र होटलहरुको तर्फबाट राखिएकोमा भने असन्तुष्टी प्रकट भइसकेको थियो । पर्यटन मन्त्री भट्टराईले शाक्यद्वयको नाम काटेर पर्यटन क्षेत्रको दवावलाई बुझेको रुपमा चर्चा भएको छ । 

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै ख्याती प्राप्त होटलहरुले पर्यटन उद्योगमा दिएको योगदानको कदर गरी उद्घाटनको र्‍यालीमा तिनका प्रतिनिधीहरुलाई राखेको भए कार्यक्रमको गरिमा अझ बढ्ने कुरामा पनि पर्यटन मन्त्रालयले ध्यान पुर्‍याएन । तर अन्तिममा भए पनि शाक्यहरुको नाम काटिनुलाई पर्यटन क्षेत्रमा सकारात्मक रुपमा मानिएको छ।

नेपालको मुख्य आम्दानीको स्रोत पर्यटन हो । यसलाई प्रबद्र्धन गर्न होटल क्षेत्रदेखि सबैको मन जित्नुपर्ने हुन्छ । तर होटलका नाममा शाक्यहरुलाई मात्र अवसर दिने प्रवृत्ति रहँदै आएको छ । यसपटक ढिलै भए पनि मन्त्री भट्टराईले मन्त्रालयको गल्तीलाई सच्याएका छन् । त्यसो त गाडीका कारोबारी सुरज वैद्यलाई भ्रमण बर्षको संयोजक बनाउँदा पनि त्रुटी भएकै थियो । पर्यटनमा कुनै पनि योगदान नभएका बैद्यलाई उद्घाटनमा भूमिका नै दिइएन । स्वागत मन्तब्यसम्म उनले गर्न पाएनन् । 

कर्ण शाक्यले पोखराको फेवाताल अतिक्रमण गरी पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना बनाएकोमा छानबिन समिति नै गठन भई प्रतिवेदन दिइसकेको छ । ती संरचना फेवाताल अतिक्रमण गरेर बनाएको सरकारी छानविन समितिले निष्कर्ष निकालेको छ । 

हाल ललितपुर नापी कार्यालय प्रमुख रहेका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छानबिन समितिका अनुसार होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर छन् । बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएको पाइएको छ । समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो । 

यसक्रममा १५ मंसिर ०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो । त्यो योजनामा फेवातालको ६५ मिटरभित्र कुनै पनि संरचना बनाउन रोक लगाइएको छ ।

त्यस्तै कर्ण शाक्य र योगेन्द्र शाक्यको नगरकोटमा रहेको क्लव हिमालय होटलले पनि १३ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको कुरा बारम्बार आइरहेको छ । यस्ता विवादित ब्यवसायीलाई पर्यटन मन्त्रालयले उद्घाटनको अग्रमोर्चामा राखेकोमा होटल संघभित्रै व्यापक असन्तुष्टी पैदा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ