arrow

निर्विकल्प सूत्र

‘सरकारले कोरोनाको खोपमा ध्यान देओस्, नागरिकले स्वास्थ्य मापदण्ड पालनामा’ – डा. रविन्द्र पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
rabindra-sameer.jpg

काठमाडौं । जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले सरकारलाई कोरोना भाइरस विरुद्धको खोपमा जोड दिन आग्रह गरेका छन् । उनले कोरोना महामारी नियन्त्रण गर्न खोपको विकल्प नभएको भन्दै जतिसक्यो छिटो खोपको व्यवस्था गरेर हरेक नागरिकलाई खोप लगाइदिन आग्रह गरेका हुन् । 

उनले भनेका छन्, ‘सरकारले खोप ल्याउन पहल गर्नुपर्यो । खोप लगाएपछि महामारी रोकिन्छ । अमेरिकामा पनि खोप लगाएपछि कोरोना रोकिँदै गएको छ ।’

उनले नेपालमा खोप ल्याउन भइरहेको ढिलाइप्रति दुःख व्यक्त गर्दै भारतमा दोस्रो लहर आउनु अगाडि नै नेपालले खोप ल्याउन सकेको भए राम्रो हुने बताए । 

खोपमा कमिशनको चलखेल भइरहेको प्रति दुःख व्यक्त गर्दै उनले भने, ‘यस्तो कुरामा सबैले इमानदार भएको भए राम्रो हुन्थ्यो । ससाना कुराहरुमा पनि व्यक्तिगत फाइदा हेर्ने हो भने बर्बादै हुन्छ ।’
 
डा. पाण्डेले खोपको विकल्प नभएको भन्दै भने, ‘जसले खोप लगाउनु भएको छ संक्रमण सर्न सक्छ तर ज्यान जाने खतरा कम हुन्छ । दोस्रो खोप लगाएकाहरु ९० प्रतिशत र एउटा खोप लगाएका पनि ६० प्रतिशत सुरक्षित हुन्छन् । सरकारले यतातिर ध्यान देओस् ।’
 
डा. पाण्डेले दोस्रो लहरले नै सताइरहेकामा तेस्रो लहरसमेत आउन सक्ने देखिएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । उनले भने, ‘हरेक लहरमा हामी लकडाउन गरेर लुकेर बस्नु हुँदैन । जतिसक्यो बढी खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पालना गरौं ।’

डा. पाण्डेले अहिलेको अवस्थाबारे इंकित गर्दै भने, ‘हामी विषम परिस्थितिमा छौं । एकदमै उच्चगतिमा पुगेको छ । अस्पतालहरुले सेवा दिने अवस्था छैन । गत वर्ष परिवारका एकलाई हुने अर्कोलाई नहुने हुन्थ्यो । अहिले परिवारका सबैलाई संक्रमण भएको छ । संक्रमित बढ्दै जाँदा उपचार नहुने अवस्था आएको छ । अहिले पाए बेड नत्र ट्रली वा भुईँमै रहेर पनि बिरामीले सेवा लिनुपर्नेछ ।’

उनले पहिलेको गल्तीलाई सरकारले अहिले पनि दोहोर्याएको र नागरिकले पनि गल्ती गरिरहेकाले कोरोना फैलिएकोप्रति चिन्ता व्यक्त गरे । 
 
उनले भने, ‘गत सालका कमजोरी दोहोरिनु दुर्भाग्य भयो । सीमानाकाबाट समूदायमा कोरोना छिर्नु फेरि दुर्भाग्य भयो । हामी आफैले पनि स्वास्थ्य मापदण्ड पालना गरेनौं । हाम्रो लापरबाही र सरकारको दूरदृष्टिमा कमीले गर्दा संक्रमण फैलियो ।’

डा. पाण्डेले सुझाव दिँदै भने, ‘हामी आम नागरिकले थाहा भएका तरिका अपनाऔं । जनस्वास्थ्यका मापदण्ड पालना गर्नमा हेलचेक्रयाइँ गर्न भएन । सरकारले पनि कोभिड अस्पतालहरु बनाउनु पर्यो । मेडिकल कलेजहरुलाई कोभिड अस्पताल बनाउनुको विकल्प छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ