सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा
कार्यस्थलमै स्वास्थ्य परीक्षण र ल्याब सुविधा पाइने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
849
Shares
काठमाडौँ । निजामती कर्मचारीहरूलाई कार्यस्थलमै सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको नयाँ सेवा एकाइ सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि औपचारिक रूपमा यो सेवा एकाइ सुरु गरिएको हो।
मन्त्रालयका अनुसार सिंहदरबारमा कार्यरत कर्मचारीहरूले सामान्य स्वास्थ्य जाँच तथा परामर्शका लागिसमेत अस्पतालसम्म धाइरहनुपर्ने बाध्यतालाई कम गर्न यो कदम चालिएको हो। यसले कर्मचारीहरूको समय बचत हुनुका साथै कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
पछिल्लो समय मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा सेवाग्राही र बिरामीको चाप अत्यधिक बढ्दै गएकाले त्यसको वैज्ञानिक व्यवस्थापन गर्न मन्त्रालयमै यो एक्स्टेन्सन काउन्टर वा सेवा एकाइ स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
यस सेवा एकाइबाट निजामती कर्मचारीका साथै मन्त्रालयमा आउने सेवाग्राहीहरूलाई समेत लक्षित गरी प्रारम्भिक स्वास्थ्य परीक्षण (ओपीडी परामर्श), रगत परीक्षण (ल्याब सुविधा) लगायतका आधारभूत स्वास्थ्य सेवाहरू उत्पादन गरिनेछ।