arrow

युरोपा लिगको फाइनल समीकरण पूरा, यस्तो छ नतिजा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
manutd-asroma.jpg

काठमाडौं । युरोपा लिग फुटबलको फाइनल समीकरण पूरा भएको छ । बिहीबार राति भएका सेमिफाइनलसँगै फाइनल समीकरण पूरा भएको हो । 

उपाधिका लागि इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिश क्लब भिल्लारियल भिड्ने भएका हुन् । फाइनल खेल २६ मे मा हुने भएको छ । 

सेमिफाइनलमा युनाइटेडले इटालियन क्लब एएस रोमा र भिल्लारियलले इङ्गलिश क्लब आर्सनललाई पराजित गरेको हो । 

युनाइटेड भर्सेस रोमा 
युनाइटेड बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३–२ गोल अन्तरले पराजित भए पनि समग्रमा ८–५  गोल अन्तरको जित निकाल्दै  फाइनल पुगेको हो ।

रोमाको मैदानमा पराजित भए पनि युनाइटेडले पहिलो लेगमा निकालेको ६–२ गोल अन्तरको जितको कारण फाइनल यात्रा तय गरेको हो ।

दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे । युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काए पनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए ।
युनाइटेड ओले गुनार सोल्सायरको नेतृत्वमा पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

युनाइटेडले पछिल्लो पटक सन् २०१७ मा युरोपा लिग जितेको थियो ।

भिल्लारियल भर्सेस आर्सनल
भिल्लारियलले आर्सनललाई समग्रमा २–१ गोल अन्तरले हराएर फाइनलमा स्थान पक्का गरेको हो । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २–१ को जितसहित भिल्लारियल फाइनल पुगेको हो ।

आर्सनलको मैदानमा बराबरीमा रोकिए पनि भिल्लारियलले पहिलो लेगमा निकालेको २–१ गोलको जितको कारण फाइनल यात्रा तय गरेको हो ।

दोस्रो लेगमा भने दुवै टोलीले गोल गर्न सकेनन् । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले गोलरहित बराबरी खेल्नु परेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ