arrow

सहमति नजिक एमाले किचलो

एमालेको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी निर्णायक, ओली–नेपाल सहमति नजिक

ओली र नेपाल ‘ईगो’ त्याग्न सहमत

logo
हाम्राकुरा सम्वाददाता, 
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
oli-madhav.jpg.jpeg

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद व्यवस्थापनमा राष्ट्रपति विद्या भण्डारी निर्णायक बनेकी छिन् । उनले बिहीबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच छलफल गराएर पार्टी विवादलाई सहमति उन्मुख गराएकी छिन् । 

दुवै नेताहरुले अब आफ्ना व्यक्तिगत कुराकानी नगर्ने, पार्टी विवाद मिलाएर लैजाने र सबैलाई मान्य हुने गरी विवाद निरुपण गर्ने गरी मध्यरातमा कुराकानी टुंग्याएका थिए । 

राष्ट्रपतिकै उपस्थितिमा करिब करिब साढे दुई घण्टा ओली नेपालबीच कुराकानी भएको थियो । तर कुराकानी चाहिँ विगतमा भएका सबै विषयलाई निर्मम ढंगले उठाइएको र केही समय दुवै नेताहरु आफ्नो अडानमा कायम रहे पनि राष्ट्रपतिले हस्तक्षेप गरेकी थिइन् । 

उनले दुवैलाई प्रश्न गर्दै भनिन्, ‘पार्टी तपाई दुई नेताहरुको मात्रै हो ? यो तपाइहरुको व्यक्तिगत कुराकानी सक्नुस् । अब वृहत्तर कुराकानी गर्नुस् । यत्रो पार्टी कसले बनायो ? तपाईहरु दुई जनाले मात्र बनाएको हो र दुवै जना मिलेर पार्टीलाई तहसनहस पार्ने ? यसले राजनीतिक भविष्य बोकेका नेताहरुलाई कहाँ पुर्याउँछ ?’ 

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर शितलनिवास पुगेका नेपाल करिब चार घण्टा त्यही बसेर छलफल गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री ओली पनि राति १० बज्दा नबज्दै शितलनिवास पुगेका थिए । दुवै नेताहरुवीच करिब करिब साढे दुई घण्टा छलफल भएको थियो । ‘सायद आजै नै सहमति हुन्छ अब करिब करिब सहमति भैसकेको अवस्था हो’, ओेली निकट स्रोतले भन्यो । 

ओली शितल निवास पुग्नुअघि राष्ट्रपति भण्डारीले एमाले नेता माधव नेपालसँग शीतल निवासमा भलाकुसारी गर्दैगर्दा प्रधानमन्त्री ओलीले माधव पक्षका प्रभावशाली दुई नेता घनश्याम भुषाल र योगेश भट्टराईसँग बालुवाटारमा वार्ता गरेका थिए ।

प्रधानमन्त्री शितल निवास गएपछि पनि दोस्रो तहका नेताहरु बालुवाटारमै बसेर छलफल गरेका थिए । राति साढे ११ बजेसम्म दुवै पक्षका नेताहरुबीच छलफल चलेको थियो । प्रधानमन्त्री फर्केपछि मात्रै राति भुषाल र भट्टराई बालुवाटारबाट फर्केका थिए ।

 ‘एमालेको विवाद आज दिनभरीमा टुंग्याउने गरी विभाजन रोक्न राष्ट्रपतिले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग बिहीबार मध्यरातिसम्म छलफल गरेकी हुन् यसले आजै दिउँसो निकास निस्कनेछ’, बालुवाटार स्रोतले भन्यो ।

निर्णायक भनिएको छलफल राति १२ बजेसम्म नै चलेको स्रोतको दाबी छ । देउवालाई भेटेर शीतल निवास पुगेका नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि पुगेका थिए । दुवै नेताबीच राष्ट्रपतिको उपस्थितिमा ‘ दुवैले अब व्यक्तिगत इगो त्याग्ने सहमति’ भएको बताइए पनि त्यसबारे नेताहरुले केही बताएका छैनन् । 

ओलीले शुक्रबार बिहान बालुवाटारमा ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञावाली लगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ