arrow

विश्वास जित्दै प्राकृतिक चिकित्सालय

logo
टेकराज पोखरेल,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
nature-therapy.jpg

नवलपुर । एक वर्ष अगाडिसम्म बायाँ खुट्टा लतारेर हिँड्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का हुमनाथ पोखरेल अहिले ठमठमी हिँड्न थालेका छन् । गोठालो जाने क्रममा लडेर उनको भाँचिएको हात निको भए पनि त्यसपछि खुट्टा लत्रिने समस्या देखापरेको थियो । चितवनका विभिन्न अस्पताल पुगेर उपचार गर्दा पनि निको नभएको खुट्टा लत्रिने समस्या प्राकृतिक चिकित्सा पद्धतिबाट उपचारपछि निको भएको पोखरेल बताउछन्।

“खुट्टामा भएको एउटा नसाका कारण खुट्टा लत्रिएको रहेछ, अन्य चिकित्सा विधिबाट उपचार हुँदा निको नै भएन, प्राकृतिक चिकित्सालयमा ४५ दिन बसेर उपचार गराएपछि अहिले ठीक भएको छ”, पोखरेलले भने, “चिकित्सालयमा गरिने उपचार पद्धति, योग, प्राणायाम, थेरापीका माध्यमबाट मेरो खुट्टाको समस्या ९० प्रतिशत समाधान भएको छ ।” 

शुरुमा प्राकृतिक चिकित्साप्रति खासै चासो नदिएको भए पनि अहिले आफ्नो समस्या समाधानपछि भने अब विश्वास बढेको उनले बताए । उन ४५ दिनसम्म चिकित्सालयमा बसेर सिकेको अभ्यासहरु अहिले आफँैले घरमा पनि गर्ने गरेको बताउछन्।

त्यस्तै कास्कीको पोखराकी ३५ वर्षीया दुर्गा सिग्देल नसा च्यापिएको समस्या समाधानका लागि सुविधानसम्पन्न भनिएका अधिकांश अस्पताल पुगे । निको नभएपछि लामो समय ओछ्यानमा परे । रजहरको प्राकृतिक चिकित्सालय पुगेपछि सुधार आएको उनी बताउछन्। 

“स्नाकोत्तर पढेको मान्छे नसा च्यापिएको समस्याले गर्दा ओछ्यानमा मात्र बस्नुपर्दा जीवनदेखि हार मानेकी थिएँ”, उनले भने, “पोखरा र काठमाडौँलगायतका सबै अस्पताल पुुग्दा पनि निको नभएको मेरो समस्या सामुदायिक प्राकृतिक चिकित्सालयमा आएपछि निको हुँदै आएको छ, अब निको भएर केही गर्छु भन्ने ऊर्जा बढेको छ ।”  

काठमाडौँ घर भएकी मुना ज्ञवालीले बितेका चार वर्षसम्ममा उपचारका लागि विभिन्न अस्पतालमा धाए । वर्षौंदेखिको शरीर चिलाउने उनको समस्या समाधान भएन । एकजना साथीको सल्लाहअनुसार उन सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पुगे । त्यहाँ पुगेको १५ दिनमा सकारात्मक परिवर्तन देखिएको ज्ञवालीको भनाइ छ ।

उनले भने, “चार वर्षअघि शरीरको सबै ठाउँमा चिलाउने गथ्र्यो, यो समस्या लिएर ठूलासाना सबै अस्पताल पुगेँ, तर निको भएन, औषधि खाने बेलासम्म ठीक भएजस्तो हुने औषधि सकिएपछि फेरि उस्तै, अहिले भने ठिक भएको छ ।” अस्पतालमा धाएर जति औषधि खाँदा पनि निको नभएपछि जीवनबाट आश मार्नुभएका उनका लागि सामुदायिक प्राकृतिक चिकित्सालय रजहर वरदान नै साबित भयो । 

“क्यान्सर हो कि भनेर छाला काटेर पनि दिएँ तर केही पत्ता लागेन”, उनले भने, “अब मेरो जीवन यस्तै हो भनेर हार मानेर बसेकी थिएँ तर अहिले निको भएको छ ।” प्राकृतिक चिकित्सालयमा उपचार शुरु गरेपछि १५ दिनमा नै परिवर्तन पाएको उनले बताए ।

आठ वर्षअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ स्थित रजहरमा सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको हो । यहाँ प्राकृतिक रूपमा उपलब्ध आकाश, वायु, अग्नि, जल र पृथ्वीका माध्यमबाट उपचार गरिने सामुदायिक प्राकृतिक चिकित्सालयका मेडिकल अधिकृत आजात पुरी बताउछन्। प्राकृतिक रूपमा हुने उपचार विधिले धेरै रोग निको हुने उनको भनाइ छ ।

रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयबाट हालसम्म करीब २५ हजारभन्दा बढीको उपचार भएको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक चिकित्सक विनोद पौडेलले बताए । दश बिघा क्षेत्रफलमा रहेको चिकित्सालयमा बिरामीका लागि छुट्टै छ बिघामा जैविक तरकारी खेती र दूधका लागि गाई पनि पालिएको उनले बताए । यदि खानपान, व्यायामलगायत जीवनशैली परिर्वतन मात्रै गर्न सके कैयौँ रोग लाग्नै नसक्ने पौडेलको जिकिर छ ।

एलोप्याथिक उपचार पद्धतिबाट निको नभएकाहरू स्वास्थ्य समस्या समाधानका लागि धेरै ठाउँमा भौँतारिने गरेका हुन्छन् । पछिल्लो समय उपचारको विकल्पमध्येमा नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पनि पर्ने गरेको छ । प्राकृतिक चिकित्सा पद्धतिमा शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक विषयलाई रचनात्मक रुपमा तालमेल बनाएर उपचार गर्ने गरिन्छ । 

प्राकृतिक चिकित्सा पद्धति पूर्वीय दर्शनसँग आधारित रहेको र यो परापूर्वकालदेखि अपनाइएको चिकित्सा विज्ञान भएकाले यसको प्रचारप्रसारसँगै पवद्र्धन गर्नुपर्ने डा पौडेलको भनाइ छ । पछिल्लो समय प्राकृतिक चिकित्सातर्फ नागरिकको विश्वाससमेत बढेको पौडेलले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ