arrow

उपत्यकासहित चार जिल्लामा बर्डफ्लु अझै उच्च जोखिममा, सातमा नियन्त्रण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
chicken-birdflue.jpg

काठमाडौँ । देशका सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यकासहित चार जिल्ला अझै जोखिममुक्त हुन सकेका छैनन्।

पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको छ भने काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा रोग नियन्त्रणका प्रयास जारी छन्।

पछिल्लो समय ११ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि विभागले संक्रमित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी संक्रमित पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गरेर सुरक्षित व्यवस्थापन गरेको जनाएको छ।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार बर्डफ्लु पन्छीमा उच्च मृत्युदर गराउने अत्यन्त संक्रामक रोग भएकाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर नियन्त्रण अभियान सञ्चालन गरिएको थियो।

रोग फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कताका साथ गस्ती परिचालन गरी अवैध रूपमा भित्र्याइएका पन्छीसमेत नष्ट गरेको विभागले जनाएको छ।

संक्रमण नियन्त्रणमा आएसँगै प्रभावित जिल्लाहरूमा पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसारमा लगाइएको प्रतिबन्ध क्रमशः खुकुलो पारिएको छ।

यद्यपि काठमाडौँ उपत्यकासहित चार जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएकाले विभागले किसान, व्यवसायी तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विज्ञहरूका अनुसार संक्रमण नियन्त्रणमा आए पनि निगरानी कमजोर भए रोग पुनः फैलिने जोखिम रहने भएकाले जैविक सुरक्षा मापदण्डको कडाइ अझै आवश्यक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ