- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले छड्के चेकजाँच तथा अनुगमन क्रममा यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरू जान चाहने यात्रुहरूसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने व्यक्तिहरूलाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरादहका ४२ वर्षीय खड्ग बहादुर भण्डारी र दोलखा सिंगटी घर भई भक्तपुर बस्ने वर्ष ३४ को राम सुरेल छन् ।
महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले यात्रु ठग्ने बस काउन्टरका कर्मचारीलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको जानकारी दिए । उनले महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरी विशेष टोली परिचालन गरिएको समेत बताए ।
टोलीले सम्भावित स्थानहरूमा गएर आफै यात्रु बनेर भाडा मोलमोलाइ गर्ने त कहिले यात्रुहरूसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेको हो ।
काठमाण्डौं देखि पूर्व झापा मोरङ जाने यात्रुहरूसँग जनही तीन हजार देखी पैँतालिस सयसम्म भाडा लिने इन्द्रेणी हाईसको काउन्टर र प्रदेश३-०१-००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुईलाई आवश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ ।
महाशाखाले बिहीबारसमेत निषेधाज्ञाको मौका छोपेर यात्रुसँग बढी भाडा असुलेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पोखरा माइक्रो काउन्टरका कर्मचारी पोखरा महानगरपालिका-३३ का बन्दराज पराजुली र रतुवामाई ९-मोरङका नवीन पौडेल तथा बुटवल भैरहवा काउन्टरका कर्मचारी धादिङ थाक्रे-७ का रञ्जित सिलवाल छन् ।